बिरामी पर्न थाले भूकम्पपीडित


(जाजरकोट) र (सल्यान) — भेरी नगरपालिका–१ रावत गाउँका खलबहादुर महरको ६ जनाको परिवार शनिबारदेखि बारीमा त्रिपाल टाँगेर बसिरहेको छ । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पले दुईवटा घर पूरै भत्किएपछि महरले भित्रका कुनै सामान निकाल्न पाएनन् । एकसरो लुगाका भरमा त्रिपालमुनि रहेका उनीहरू चिसो लागेर बिरामी परेका छन् ।

‘एकसरो कपडाका भरमा छौं । जहान र छोराछोरी जाडोले बिरामी परेका छन्,’ उनले भने, ‘मलाई त रातभर उनीहरूकै स्याहार गर्नै ठिक्क छ ।’ छोराछोरी र पत्नीलाई ज्वरो र रुघाखोकीले सताएको उनले बताए । नलगाड नगरपालिका–३ का

सुदर्शन विकको परिवार झनै बिजोग अवस्थामा छ । महिना दिनकी सुत्केरी पत्नी रमा, दुई छोराछोरी र ७० वर्ष काटेका बाआमा ज्वरो र रुघाखोकीका बिरामी परेपछि स्याहार गर्न गाह्रो भएको उनले बताए । ‘शिशुदेखि बूढा बाआमा सबैलाई चिसोको असर देखिएको छ । पालमा शीत चुहिएर रातभर

सुत्नै समस्या हुन्छ,’ उनले भने, ‘भूकम्पले पानीको मुहान भत्किएपछि खोलाको पानी पिइरहेका छौं, राति जाडोले सुत्नै सकिन्न, म पनि बिरामीजस्तै भइसकें ।’

सरकारले दिएको एउटा त्रिपाल, कम्बलले परिवारलाई चिसोबाट जोगाउन समस्या भइरहेको र घरभित्र पुरिएको सामान निकाल्न नपाउँदा झनै सास्ती बेहोर्नुपरेको उनीहरूको भनाइ छ । भूकम्पका कारण अस्तव्यस्त बनेको जाजरकोट सदरमुकाम खलंगामा खानेपानी नियमित नभएपछि बिमार फैलिने जोखिम भएको भेरी–३ का बद्री शाहले बताए । ‘चिसो मौसममा विपत्ति हुँदा ठूलो समस्या बनायो, न घर रह्यो, न सामान नै,’ उनले भने, ‘खानेपानीको पनि अभाव भएपछि विस्थापितमा स्वास्थ्य समस्या देखिने जोखिम भएको छ ।’ उनका अनुसार भूकम्पले अधिकांश शौचालयमा क्षति पुर्‍याएपछि पीडितहरू खुला शौच गर्न बाध्य छन् । जसले झाडापखाला फैलिने जोखिम बढाएको उनको भनाइ छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *