किन कम उमेरमै स्तन क्यान्सरको सिकार हुँदैछन् महिला ?


भारत हरियाणाको गुडगाउँकी २७ वर्षीया प्रियंकाले एक दिन अचानक दायाँ स्तनमा गाँठो आएको महसुस गरिन्, जुन छुँदा साह्रो थियो । उनले यो कुरा आफ्नो साथीलाई बताइन् । महिनावारी हुनुअघि पनि यस्ता गाँठो देखा पर्छन् र पछि हट्न सक्छ । त्यसैले महिनावारी नभएसम्म पर्खिन उनकी साथीले सल्लाह दिइन् ।

प्रियंकाको महिनावारी सकिएपछि पनि गाँठो रहिरह्यो । त्यसैले उनले डाक्टरको सल्लाह लिने निर्णय गरिन् । ‘पहिलो पटक यस्तो परीक्षण गराउनु निकै असहज थियो, तर डाक्टरले ९५ प्रतिशत यो गाँठो निको हुने र उमेर सानै भएकाले क्यान्सर हुन नसक्ने बताएका थिए,’ उनले सुनाइन् । प्रियंकाले अल्ट्रासाउन्ड गराइन् । यसपछि फेरि बायोप्सी गर्न सल्लाह दिइयो र त्यसपछि जे डर थियो त्यही भयो ।

परीक्षणमा क्यान्सर पत्ता लाग्यो

परीक्षणपछि उनलाई स्तन क्यान्सर भएको थाहा भयो । ‘मलाई दोस्रो चरणको ट्रिपल नेगेटिभ स्तन क्यान्सर भएको पत्ता लाग्यो । यसमा तीन प्रकारका प्रोटिनहरू उत्सर्जन हुन्छन्, जुन आक्रामक हुन्छन्, छिटो फैलिन्छन् र फर्किने सम्भावना पनि धेरै हुन्छ,’ उनी भन्छिन्, ‘यसको उपचारको लागि पहिले मलाई किमोथेरापी गर्न सल्लाह दिइयो र त्यसपछि शल्यक्रिया गर्न सुझाव दिइयो । ताकि त्यो भाग हटाउन सकियोस् ।’

उनी सुनाउँछिन्, ‘म यो रोगसँग लड्न मानसिक रूपमा तयार थिएँ तर आमाबुवालाई यसको जानकारी कसरी दिने भन्ने चिन्तामा थिएँ । मेरो समस्याको बारेमा थाहा पाउनु आमा र बुबाको लागि धेरै गाह्रो थियो, किनभने मेरो विवाह पनि भएको थिएन । मेरो स्तन नै हटाउनुपर्छ भन्ने कुरा स्वीकार्न परिवारलाई गाह्रो भइरहेको थियो । तर आमाले अवस्था बुझ्न थाल्नुभयो र बुवाले पनि जे ठीक लाग्छ त्यही गर भन्नु भयो ।’

डाक्टरले प्रियंकालाई वंशाणुगत क्यान्सर भएको बताए । उनको आमाको परिवारमा ६ जनालाई क्यान्सर भएको र जसमध्ये एक उनकी हजुरआमा पनि थिइन् ।

२० देखि ३० वर्षका युवतीहरूमा क्यान्सर

अखिल भारतीय आयुर्विज्ञान संस्थान, एम्सको सर्जिकल ओन्कोलोजी विभागका प्रोफेसर डा. एसभीएस देका अनुसार विगत १० देखि १५ वर्षमा युवा महिलाहरूमा क्यान्सर धेरै देखिएको छ ।

उनी भन्छन्, ‘युवा महिलाहरूमा स्तन क्यान्सरका घटनामा ४० वर्षभन्दा कम उमेरका महिलामा देखिएको छ ।’ यीमध्ये सबैभन्दा कम उमेरका महिला, जसमा क्यान्सर पाइन्छ, ती २० देखि ३० वर्षका छन् । पश्चिमा मुलुकमा ४० वर्षपछि महिलामा स्तन क्यान्सर हुने गरेको र ५० देखि ६० वर्ष उमेरका महिलामा क्यान्सरका बिरामी बढेको उनको भनाइ छ ।

डाक्टर देव भन्छन्, ‘मैले नै आमा र छोरीको स्तन क्यान्सरको शल्यक्रिया गरेको छु, जसमा आमा ५५ वर्षकी छोरी २२ वर्षकी छिन् र दुवैलाई एउटै मितिमा स्तन क्यान्सर भएको पत्ता लागेको थियो ।’

म्याक्स अस्पतालको क्यान्सर केयर इन्स्टिच्युटको मेडिकल अन्कोलोजी विभागका निर्देशक डाक्टर देवव्रत आर्यले पनि पहिले स्तन क्यान्सरको समस्या धेरैजसो ५० देखि ६० वर्ष उमेर समूहमा हुने गरेको बताए । तर अहिले २० वर्षमाथिका युवतीमा पनि धेरै केस देखा परेको छ, जुन असाधारण छ ।’

उनी भन्छन्, ‘यदि तथ्यांक हेर्दा २० देखि ३० वर्ष उमेर समूहका महिलामा पाँचदेखि १० प्रतिशत स्तन क्यान्सर हुने गरेको पाइएको छ । र, यो प्रतिशत धेरै ठूलो हो ।

तथ्यांकले के भन्छ ?

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर), राष्ट्रिय रोग सूचना तथा अनुसन्धान केन्द्र (एनसीडीआईआर)ले राष्ट्रिय क्यान्सर रजिस्ट्री कार्यक्रम प्रतिवेदन २०२० जारी गरेको थियो, जसमा सन् २०२० मा क्यान्सरका केसहरू १३.९ लाख हुने अनुमान गरिएको थियो । साथै सन् २०२५ मा यी केस बढेर १५.७ लाख पुग्ने अनुमान पनि गरिएको थियो ।

१४.८ प्रतिशत अर्थात् ३.७ लाख महिलामा स्तन क्यान्सरको मूल्यांकन गरिएको छ । सामान्यतया स्तन र पाठेघरको मुखको क्यान्सरका धेरैजसो घटना महिलामा हुने हुन्छन् । महिलामा स्तन क्यान्सर हुने दर अझ तीव्र बनिरहेको छ ।

३१ वर्षमा गर्भावस्था र स्तन क्यान्सर

दिल्लीमा बस्ने अलिशा ६ महिनाकी गर्भवती हुँदा एक दिन आफ्नो स्तनमा गाँठो वा ग्रन्थि बढेको महसुस गरिन् । उनलाई शंका लाग्न थाल्यो । स्त्रीरोग विशेषज्ञबाट जाँच गर्दा करिब ६ वर्षपछि फेरि गर्भवती भएकाले यो दूध ग्रन्थि हुन सक्ने बताएपछि उनी चिन्ता मुक्त भइन् ।

उक्त ग्रन्थि बिस्तारै बढ्दै जाँदा उनी आमालाई पनि क्यान्सर भएकाले अलि बढी सजक थिइन् । गुगलमा खोज्दा पनि उनले ९९.९ प्रतिशत क्यान्सर गर्भावस्थामा नहुने र गर्भावस्थामा यस्ता ग्रन्थिहरू बन्नु स्वाभाविक हो भन्ने पत्ता लगाइन् ।

तर नवौं महिनामा उनको हात र कोखामा कडा दुखाइ र ज्वरो आयो । डाक्टरले ज्वरो आउनु राम्रो नभएको बताए । र, उनको डेलिभरी समयभन्दा केही दिन पहिले भयो ।

अलिशा सुनाउँछिन्, ‘मैले छोरो जन्माएँ र उसलाई खुवाउँदा मेरो दूधको ग्रन्थि पनि नरम हुन थाल्यो । त्यसपछि मलाई लाग्यो, यो त दूधको ग्रन्थि मात्रै हो, तर १५ दिनमै यति बढ्यो कि स्तनको दुई तिहाइ भाग ढुंगाजस्तै भयो । त्यसपछि दूध आउन बन्द भयो । डाक्टरले थप जाँच गर्न सल्लाह दिए ।

त्यो समयमा उनी गुजरातमा बस्थिन् र उनकी आमा दिल्लीमा क्यान्सर पीडितहरूको लागि भारतीय क्यान्सर सोसाइटी नामक संस्थामा काम गरिरहेकी थिइन् । अलिशाकी आमाले उनलाई दिल्ली आउन सल्लाह दिए र उनी आफ्नो ४० दिनको छोरालाई लिएर दिल्ली आइन् ।

अनुसन्धानका क्रममा अलिशालाई स्तन क्यान्सर भएको पाइएको र उनको क्यान्सर तेस्रो चरणको अन्तिम चरणमा पुगेको थियो ।

डाक्टरले शल्यक्रियाको सट्टा किमोथेरापी गर्न सल्लाह दिए ।  उनलाई पहिले ६ वटा किमो दिइयो र त्यसपछि औषधि खान सल्लाह दिइयो ।

किन बढ्दै संख्या ?

क्यान्सरका बिरामी किन बढ्दै छन् ? डा. एसभीएस जनसंख्या बढेसँगै केस पनि त्यही अनुपातमा बढेको बताउँछन् । युवा जनसंख्या बढी छ त्यसैले उनीहरुमा क्यान्सर हुने दर बढिरहेको छ ।

यहाँ प्रश्न उठ्छ क्यान्सर र जनसंख्याको बीचमा समानुपातिक सम्बन्ध मात्र हो कि होइन ?

डा. देव भन्छन्, ‘स्तन क्यान्सरको दर पनि वृद्धि भएको छ । तथ्यांकले देखाउँछ कि २० वर्षमा यो दर २० प्रतिशतले बढेको छ ।’ उनका अनुसार स्तन क्यान्सर बढ्नुको ठोस कारण थाहा छैन । युवावस्थामा जीवनशैली मुख्य कारण हो र दोस्रो कारण वंशाणुगत हो, जसमा परिवारमा कसैलाई क्यान्सर भएको भए अर्को पुस्तामा क्यान्सर हुने सम्भावना उच्च हुन्छ ।

डा. आर्य २० देखि ३० वर्ष उमेरका महिलामा स्तन क्यान्सर हुनुको कारण जीवनशैलीभन्दा वंशाणुगत रहेको बताउँछन् । उदाहरणका लागि, हलिउड अभिनेत्री एन्जेलिना जोलीले स्तन क्यान्सरबाट बच्नका लागि शल्यक्रिया गराएकी थिइन् किनभने उनकी आमालाई क्यान्सर थियो । वंशाणु परीक्षणमा यो जानकारी बाहिर आएपछि उनले आफ्नो दुवै स्तन निकालेकी थिइन् ।

२०-३० वर्षका युवतीहरुमा स्तन क्यान्सर देखा पर्दा शरीरमा अन्य के कस्तो असर पार्छ ?

प्रजनन क्षमतामा असर

क्यान्सर उपचारका क्रममा दिइने किमोथेरापीले महिलाको प्रजनन क्षमतामा असर पार्ने चिकित्सकहरू बताउँछन् । तसर्थ उपचारको क्रममा महिलाले सन्तान जन्माउन सक्ने भए कति वर्षपछि गर्भवती हुन सुरक्षित हुन्छ भन्ने कुरा हेरिन्छ । किनभने धेरै अवस्थामा किमोथेरापीले पनि अण्डाशयलाई असर गर्न सक्छ ।

त्यसैले डिम्बाशयको संरक्षण वा अण्डाशय जोगाउन उनीहरुले सल्लाह दिन्छन् । जब बिरामी दुई–तीन वर्षमा निको हुन थाल्छ, तब तिनीहरूले बच्चाको योजना बनाउन सक्छन् । साथै, जब महिलाहरू सानै छन् भने स्तन संरक्षण शल्यक्रिया गर्ने प्रयास पनि गरिन्छ । पूर्ण स्तन हटाउने प्रक्रिया नगर्ने प्रयास गरिन्छ ।

वंशाणुगत परीक्षणमा पोजेटिभ देखिएमा र स्तनको अर्को भाग सामान्य भएमा पनि त्यसलाई हटाइन्छ । किनभने त्यस्ता अवस्थामा जिन म्युटेसन भएमा त्यसको प्रगति हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्तो अवस्थामा महिलाले आफ्नो दुवै स्तन निकाल्छन् ।

स्तन क्यान्सरको लक्षण थाहा पाउने तरिका

स्तनमा गाँठो स्तन क्यान्सरको सामान्य लक्षणमध्ये एक हो । स्तनमा कुनै किसिमको गाँठो देखिए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्तनमा कुनै प्रकारको सुन्निएको देखिएमा त्यसप्रति लापरवाह हुनुहुँदैन । यदि यो सुन्निएको कुनै भागमा वा पूरै स्तनमा देखा पर्छ भने सावधान रहनुपर्छ ।

स्तनको छालामा कुनै पनि प्रकारको परिवर्तन देखिन्छ, जस्तै जलेको अनुभूति, छाला रातो हुनु वा कडा हुनु, छालाको बनावटमा परिवर्तन महसुस हुन्छ ।

निप्पलबाट कुनै तरल पदार्थ बाहिर निस्किएको देखिए, निप्पलभित्र पसेको वा दुखाइ भएमा चिकित्सकको सल्लाह लिनुपर्छ ।

कहिलेकाहीं युवतीलाई क्यान्सरका लक्षण राम्ररी महसुस नहुने, सानो ट्युमर पत्ता नलाग्ने र कहिले मेमोग्राफीमा पनि पत्ता नलाग्ने जस्ता चुनौतीको सामना गर्नुपर्ने चिकित्सकहरू बताउँछन् । तर कुनै पनि प्रकारको परिवर्तन वा माथिका लक्षणहरू देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

अहिले कस्तो छ प्रियंका र अलिशाको स्वास्थ्य अवस्था ?

प्रियंकाले लकडाउनको दुई दिनअघि पहिलो पटक किमो लिएको बताइन् । किमोको पहिलो हप्ता चिन्ता र दिनमा ४० पटकसम्म बान्ता हुनु सामान्य थियो ।  तर बिस्तारै स्थितिमा सुधार हुन थाल्यो ।

प्रियङ्का सुनाउँछिन्, ‘मैले आठवटा किमो पूरा गरें र त्यसपछि क्यान्सर फैलिने डरले शल्यक्रिया गरें । दुवै स्तन हटाइयो र अब मैले प्रत्यारोपण गरेको छु । जुन १० वर्षसम्म रहनेछ । म निको भएको छु र सावधानी अपनाइरहेको छु ।’

किमोपछि एलिशाको क्यान्सर अब बढेको छैन । उनी सामान्य जीवनयापन गरिरहेकी छिन् । उनले मुखबाट लिने औषधि पनि बन्द गरेकी छिन् ।

उनी भन्छिन्, ‘अब म बलियो र सकारात्मक छु । यदि क्यान्सरसँग लड्नुछ भने मानसिक रुपमा सकारात्मक र बलियो हुनु धेरै महत्त्वपूर्ण छ । अब मलाई कुनै कुराको डर लाग्दैन ।’

बीबीसीबाट अनुदित


Leave a Reply

Your email address will not be published. Required fields are marked *