३५ हजार परिवार घरबासविहीन


रुकुम र जाजरकोट — शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ३५ हजार परिवारलाई बासविहीन बनाएको छ । जाजरकोट र रुकुम पश्चिमलगायत १३ जिल्लामा १७ हजार ७ सय ९२ घर पूर्ण रूपमा भत्किएका छन् । त्यस्तै १७ हजार ५ सय २९ कच्ची घर चर्किएकाले बस्न नमिल्ने अवस्थामा छन् ।

गृह मन्त्रालयको विपद् पूर्वतयारी तथा प्रतिकार्य शाखाले सोमबार रातिसम्म संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी घर रुकुम पश्चिममा भत्किएका छन् । यो जिल्लामा १६ हजार ५ सय ७० घर पूर्ण रूपमा र ९ हजार ९ सय ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । त्यस्तै जाजरकोटमा १ हजार १ सय ७० घर पूर्ण रूपमा र ७ हजार १ सय ६६ घर आंशिक रूपमा भत्किएका छन् ।

सबैभन्दा बढी मानवीय क्षति भने जाजरकोटमा भएको छ । भूकम्पबाट १ सय ५७ जनाको मृत्यु भएकामा १ सय ५ जना जाजरकोटका छन् । यो जिल्लामा १ सय ३३ जना घाइते छन् । त्यस्तै रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १ सय ९७ जना घाइते छन् । भूकम्पको धक्काले रुकुम पूर्व, सल्यान, रोल्पा, नवलपरासी पूर्व, दैलेख, दाङ, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ ।

पहिले नै जोखिमपूर्ण भनेर सार्नुपर्ने भनिएका बस्ती उपेक्षामा परेकाले पनि बढी क्षति भएको छ । मुसलधारे वर्षासँगै ०६८ जेठमा आएको पहिरोले यहाँको चिउरी बस्तीलाई नै घेर्‍यो । ठाउँठाउँमा धाँजा फाटेर जोखिम बढेपछि बस्ती नै सार्नुपर्ने अवस्था आयो । स्थानीय अन्यत्र जग्गा खोज्ने प्रयासमा लागे । तर १२ वर्षदेखि बस्ती नसार्दा नलगाड नगरपालिका–१ चिउरी बस्तीले यसपालि भूकम्पमा धनजनको ठूलो क्षति व्यहोर्नुपरेको छ । ०५१ साउनमा पनि यो बस्तीलाई पहिरोले घेरेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *