चिसो बढे पनि डेंगीको जोखिम कायमै, सँगै देखिँदै स्क्रब टाइफस


काठमाडौं । पछिल्ला केही महिनायता डेंगी र स्क्रब टाइफसको संक्रमण सँगसँगै देखिइरहेको छ ।

यो वर्ष अक्टोबर अन्तिमसम्म डेंगी संक्रमितको संख्या ४४ हजार नाघेको छ । जाडोयाम सुरु भएपनि डेंगीको जोखिम कायमै रहेको विज्ञहरू बताउँछन् । गतवर्ष सन् २०२२ मा कुनैपनि महिनामा डेंगी शून्यमा झरेको थिएन ।

सँगसँगै देखिँदै डेंगी र स्क्रब टाइफस
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १ नोभेम्बरसम्म ४४ हजार ८४ जना संक्रमित भएका छन् । डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

सन् २०२२ मा ५४ हजार ७८४ जना डेंगी संक्रमित भएका थिए । ८८ जनाको डेंगीबाट मृत्यु भएको ईडीसीडीको तथ्यांक छ ।

यही अवधिमा तीन हजार ९०० जनामा स्क्रब टाइफस संक्रमण देखिएको छ । हालसम्म मृत्यु भने पुष्टि भएको छैन । ईडीसीडीका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार २०७२ सालको भूकम्पपछि स्क्रब टाइफस संक्रमितको संख्या बर्सेनि बढ्दै गएको छ । गतवर्ष तीन हजार ५०० जना संक्रमित भएका थिए ।

तीन महिनायता १० हजार बढी डेंगी संक्रमित
जुलाईयता उच्च बन्दै गएको डेंगी संक्रमण पछिल्लो तीन महिनायता निरन्तर बढिरह्यो । जुलाईमा ६ हजार ६९ जना संक्रमित भएकोमा अगष्टमा यो संख्या १३ हजार ८४६ पुग्यो ।

सेप्टेम्बरमा ११ हजार ५८० र अक्टोबरमा १० हजार ५६५ जना संक्रमित थपिएको ईडीसीडीको तथ्यांक छ । १ नोभेम्बरमा एकैदिन २५० जना संक्रमित थपिएका थिए ।

जाडो बढे पनि किन गएन डेंगी संक्रमण
जुलाईयता उच्च बनेको डेंगी संक्रमण नोभेम्बर मध्यसम्म बढ्नसक्ने ईडीसीडीको आँकलन छ । यसअघिका दुई महिनामा उच्च नभए पनि संक्रमितको संख्या थपिने देखिन्छ ।

“कुनै ठाउँ विशेषमा संख्या बढ्ने देखिन्छ, अन्यत्र पनि केसहरू देखिन्छन् तर महामारीको रूप भने अब लिँदैन”, डा.दाहाल भन्छन् ।

एकपटक पानी पर्ने र केही दिन घाम लाग्ने मौसम नै लामखुट्टेको प्रजनन्का लागि उपयुक्त हुने भएकाले संक्रमणको जोखिम कायमै रहेको उनको भनाइ छ ।

वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिलेको संक्रमणलाई पोस्ट मनसुन डेंगीको रूपमा व्याख्या गर्छन् ।

प्रत्येक वर्ष यो सिजनमा पनि डेंगी बढेको उनको अनुभव छ । “अहिलेको डेंगीलाई दोस्रो संक्रमणको दोस्रो चरण भन्न सकिन्छ, मनसुनमा परेको पानी जमेर बसिरहने र यही मौसम लामखुट्टे फैलिन उत्तम वातावरण हो”, डा. पुन भन्छन् ।

अघिल्ला वर्षहरूको रेकर्ड हेर्दा डेंगीको जोखिम डिसेम्बर अन्तिमसम्म रहने उनको भनाइ छ । तर त्यो समयसम्म केही विशेष ठाउँमा जनवरीसम्म पनि संक्रमित देखिने गरेको डा. पुन बताउँछन् ।

पोष्ट मनसुनमा पनि लामखुट्टे फैलिनुमा १०० दिनको सिद्धान्त लागु हुने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी बताउँछन् । कुनैपनि पहाडी वा हिमाली जिल्लाको तापक्रम मात्रै लगातार १०० दिनसम्म १५ डिग्री सेन्टिग्रेटभन्दा बढी भएमा त्यहाँ लामखुट्टेका लागि प्रजननमैत्री वातावरण बन्ने उनको भनाइ छ ।

यो वर्ष डेंगी संक्रमण बढी देखिनेमा अधिकांश पहाडी जिल्ला छन् । पछिल्लोपटक तनहुँ, धादिङ, कास्की लगायतका जिल्लामा संक्रमण बढिरहेको ईडीसीडीको तथ्यांक छ ।

महिनौसम्म जीवित रहनसक्छ लामखुट्टेको अन्डा
जाडो बढ्दै गए पनि लामखुट्टेको वृद्धि विकासमा कमी नआएकाले डेंगीको जोखिम कम नभएको विज्ञहरू बताउँछन् । डेँगी ’एडीस एजिप्टी’ र ’एडिस एल्बोपिक्टस’ प्रजातिका पोथी लामखुट्टेको अन्डा ६ महिनादेखि एक वर्षसम्मपनि प्रजननयोग्य अवस्थामा रहनसक्छ ।

यसरी रहेको अन्डापानी जमेको अवस्थामा जुनसुकै बेला लामखुट्टेको रूप लिनसक्ने बताउँछन् स्वास्थ्य निर्देशनालय वाग्मतीका निर्देशक तथा जनस्वास्थ्य विज्ञ सागर घिमिरे । पानी जम्ने स्रोतहरू घर वरिपरी रहँदासम्म जोखिम हुने भएकाले अहिले अपेक्षाकृत रूपमा डेंगी संक्रमण नघटेको उनको तर्क छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *