बारामा शिक्षक हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ


१३ कात्तिक, काठमाडौं । बाराको कलैया उपमहानगरपालिका–६ मा सोमबार मध्याह्न भएको शिक्षक रुपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्नको आशंकामा एक जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, बाराले कलैयाबाट एक जनालाई पक्राउ गरेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले अनलाइनखबरलाई बताए ।

‘अहिले बताउन सक्ने विषय भनेको शंकास्पद एक जना नियन्त्रणमा छन्, अरु विषयमा अनुसन्धान भइरहेको छ’, सापकोटाले भने, ‘थप खुलेपछि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्नेछ ।’

सोमबार दिउँसो पाने १ बजे मोटरसाइकलमा घरतिर गइरहेका बेला बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक स्वर्णकारलाई अज्ञात समूहले गोली हानेको थियो । कलैया उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामविश्वास ठाकुर लोहारका अनुसार, स्कुल नजिक पुग्ने बेला उनलाई दुई वटा मोटरसाइकलमा भएका अज्ञात व्यक्तिले घेरेका थिए ।

‘मोटरसाइकल कुदिरहेको थियो, उहाँको अगाडि एउटा र पछाडि अर्को मोटरसाइकलले उनलाई पछ्याएछ’, लोहारले प्रत्यक्षदर्शीहरुलाई उधृत गर्दै भने, ‘उहाँले भाग्ने प्रयास गर्दै स्पीड बढाउनुभयो, तर अगाडि पट्टीे मोटरसाइकलमा सवार दुईजना मध्ये पछाडि बस्नेले गोली चलाएछ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *