चाडपर्वमा कालोबजारी गर्नेलाई केही गर्न सकेनौँ – वाणिज्यमन्त्री


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले चाडपर्वमा कालोबजारी गरी उपभोक्ताहरू ठगी गर्नेहरूलाई कुनै कारबाही गर्न नसकिएको बताएका छन् ।

आइतबार विधायन व्यवस्थापन समितिको बैठकमा विद्युतीय व्यापारसम्बन्धी विधेयकबारे छलफलमा भाग लिँदै उनले विद्युतीय व्यापारसम्बन्धी ऐनहरू बन्न नसक्दा कालोबजारी गर्नेहरूलाई कारबाहीको प्रक्रिया अघि बढाउन नसकिएको बताए ।

समातिएका ठूला कालोबजारी गर्ने व्यक्तिहरू तीन लाख तिरेर छुट्ने गरेको भन्दै उनले जरिवानाको दायरा ठूलो बनाउन आवश्यक रहेको बताए । उनले ठूलो कालोबजारी गर्नेहरूलाई कसुरको आधारमा हेरेर दुईदेखि १० लाखसम्म जरिवाना गर्ने प्रावधान राख्नुपर्ने बताए ।

“५० हजारदेखि तीन लाखसम्मको जरिवाना छ । समातिएका ठूला कालोबजारीहरूलाई तीन लाखै त हो भनेर फुत्किने गरेका छन् । त्यसकारण हामी सचेत हौँ । जेल हाल्ने त कुरै छैन, कसले हाल्छ, कहाँ हाल्छ ? अनुगमन गरेर जेल हाल्ने कुरा होइन, तर ठूलो ठगीको लागि सजाय राखिएको हो । सानोलाई त तीन लाखदेखि पाँच लाख जरिवाना राखिएको छ । यसलाई कसुर हेरी २ देखि १० लाख गर्नुपर्छ । कालोबजारीहरूलाई हामीले यसपालि केही गर्न सकेनौँ । गयो समात्यो, २० हजार फाइन गरेका थियौँ, ठूलालाई ३ लाख गर्ने हो । तर उठाउने कानून छैन, नदिए कसरी अघि बढ्ने भन्ने छैन,” उनले भने ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *