एमडीएमएसमा दर्ता नभएका हजारौं आइफोन १५ र एन्ड्रोइड फोन ब्लक गर्दै प्राधिकरण


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन एक अर्काे प्रयास थालेको छ । केही दिनअघि असोज ४ गते प्राधिकरणले एक सूचना जारी गर्दै १५ दिनभित्र एमडीएमएसमा दर्ता नभएको फोन दर्ता गर्न आग्रह गरेको छ ।

“यदि १५ दिनभित्र एमडीएमएस प्रणालीमा दर्ता नभएमा उक्त मोबाइल ह्यान्डसेटमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने,” प्राधिकरणले सूचनामा भनेको छ । एमडीएमएसमा आईएमईआई नम्बर दर्ता नभएका फोनहरु गैरकानुनी तरिकाले भित्रिएको हुने प्राधिकरणको भनाइ छ ।

नेपाल दूरसञ्चार प्राधिकरणले हालै नेपाल भित्रिएको आइफोन १५ सिरिजकै हजारौँ फोन एमडीएमएसमा दर्ता नभएरै चलिरहेको बताएको छ । पछिल्ला आइफोन र अरु एन्ड्रोइड फोनहरुमा दूरसञ्चार सेवा नचल्ने गरी ब्लक गर्ने तयारी गरिरहेको प्राधिकरणले बताएको हो ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दर्ता नभएका आइफोन १५ दर्ता गर्नका लागि आह्वान भइहेको र दर्ता नभएमा ती फाेनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने तयारी भइरहेको बताएका हुन् ।

प्राधिकरणका निर्देशक सुरेन्द्र लाल हाडाले करिब दुई हजार आइफोन १५ एमडीएमएसमा दर्ता नभएरै सञ्चालनमा रहेको बताएका छन् । पटकपटक दर्ता गर्नका लागि आह्वान गर्दा समेत दर्ता नभइरहेको र अब दूरसञ्चार सेवा अवरुद्ध गर्ने स्थिति सिर्जना भएको उनको भनाइ छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *