काठमाडौं उपत्यकामा डेढ अर्बका खसीबोका र च्यांग्रा बिक्री


काठमाडौँ — दसैंको एक सातामा झन्डै डेढ अर्बको खसीबोका र च्यांग्रा बिक्री हुँदा पनि व्यवसायी निराश नै छन् । आपूर्तिको अवस्था सहज हुँदाहुँदै सोचेअनुसार बिक्री नहुँदा खसीबोका र च्यांग्रा मौज्दात तिहारसम्मै रहने उनीहरूको भनाइ छ । गत वर्ष हिले दसैं अर्थात् वर्षातका कारण व्यवसायीले गाउँगाउँबाट खसीबोका ल्याउन सकेका थिएनन् ।

यसपालि भने सडक/बाटो सहज हुँदा पर्याप्त भित्रियो । मूल्य पनि गत वर्षकै हाराहारीमा निर्धारण भयो । तर व्यापार सोचेअनुसार नभएको काठमाडौं चौपाया खरिद प्र्रालिका अध्यक्ष जनक खड्काले जनाए । ‘फूलपातीसम्म भारतबाट खसीबोका आएनन्, स्वदेशी नै पर्याप्त रहे । भाउ पनि बढी होइन, पोहोरकै मूल्य लगाएका थियौं,’ अध्यक्ष खड्काले भने, ‘तर व्यापार सुस्त रह्यो ।’

बिक्री नभएपछि व्यवसायीले खसीबोकाको बिक्री मूल्यसमेत संशोधन गरिरहेका छन् । विगतका वर्षमा सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने सहुलियत खसीबोका स्टक सकिएलगत्तै निजी व्यवसायीले मूल्य बढाउने गरेका थिए । यसपालि भने मूल्य घटाउने होड चलेको छ । सोचेअनुसार बिक्री नभएपछि कलंकीमा व्यवसायीले मूल्य घटाएर बिक्री गरेको अध्यक्ष खड्काको भनाइ छ ।

‘कलंकी बजारमा करिब ३५ हजारको संख्यामा खसीबोका र च्यांग्रा बिक्री भए । उपत्यकाका अन्य बजारमा समेत गरी करिब ६० हजार बिक्री भएको अनुमान छ,’ उनले भने । एउटा खसी र च्यांग्रा औसतमा ३५ देखि ४० किलो हुन्छ । खसीबोकाको औसत मूल्य २० देखि २२ हजार रुपैयाँ पर्छ । च्यांग्रा ३५ देखि ४५ हजार रुपैयाँ पर्छ । औसत २५ हजारका दरले डेढ अर्ब हाराहारीको बिक्री भएको देखिन्छ । तर पनि व्यापारी सन्तुष्ट छैनन् ।

गत बुधबार भक्तपुरको सल्लाघारीमा दसैंका लागि ल्याइएका च्यांग्रा, खसीबोकाको मूल्य व्यवसायीले घटाए । दसैंका लागि मात्रै बजार लाग्ने भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनीमा सर्वसाधारणको भीड लागे पनि अपेक्षित व्यापार भएन । बिक्री कम भएपछि मूल्य घटाएर बिक्री गरेको जनाइएको छ । सबै व्यापारीको सल्लाहअनुसार मुस्ताङबाट ल्याइएको च्यांग्राको मूल्य किलोको २ सय ५० घटाएर प्रतिकिलो १ हजार १ सय रुपैयाँ निर्धारण गरिएको थियो । खसी प्रतिकिलो ६०० रुपैयाँमा बिक्री भएको बताइएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि ३ पटक मूल्य संशोधन गरेको छ ।

खाद्यले असोज ३० देखि खसीबोका र च्यांग्रा बिक्री सुरु गरेको थियो । खसी प्रतिकिलो ६ सय ८० र च्यांग्राको १ हजार २ सय ६० रुपैयाँ तोकेको थियो । उक्त मूल्यमा १० रुपैयाँ छुट दिएर खसी प्रतिकिलो ६ सय ७० र च्यांग्रा १ हजार २ सय ५० मा बिक्री गरेको थियो । सन्तोषजनक रूपमा बिक्री नभएपछि खाद्यले कात्तिक ३ देखि लागू हुने गरी मूल्य संशोधन गरी खसीबोका प्रतिकिलो ६ सय ६० रुपैयाँ तोक्यो ।

उपभोक्तालाई सहुलियतमा १० रुपैयाँ छुट गरी बिक्री मूल्य प्रतिकिलो ६ सय ५० रुपैयाँ तोकियो । च्यांग्राको मूल्य सुरुमा प्रतिकिलो १ हजार २ सय ३५ रुपैयाँ निर्धारण गरिएको थियो । उक्त मूल्यमा १० रुपैयाँ छुट गरेर बिक्री मूल्य प्रतिकिलो १ हजार २ सय २५ रुपैयाँ कायम भएको थियो । कात्तिक १० देखि नै लागू हुने गरी मूल्य फेरि संशोधन भएको छ । खसीबोकाको मूल्य घटेर प्रतिकिलो ५ सय ९० रुपैयाँ र च्यांग्रा प्रतिकिलो १ हजार १ सय ५० रुपैयाँ कायम भएको कम्पनीका प्रादेशिक कार्यालय प्रमुख ज्ञानु थापाले जनाइन् ।

‘कलंकी खसी बजारसहित दुई/तीन ठाउँ हेर्‍यौं । मूल्य प्रतिकिलो ६ सय ५० देखि ६ सय ८० रुपैयाँसम्ममा बिक्री भइराखेको छ । त्योभन्दा सस्तो गर्न खोजेका छौं,’ उनले भनिन्, ‘२ हजार २ सय १२ मध्ये करिब १ हजार ९ सय बिक्री भइसकेका छन् । साढे २ सय च्यांग्रा बिक्री हुन बाँकी छ, केही मात्रामा खसीबोका पनि छन् । मौज्दात रहेसम्म बिक्री गर्छौं ।’

खाद्यले कम्पनीको प्रादेशिक कार्यालय थापाथलीबाट बिक्री गरिरहेको छ । एउटा च्यांग्रा खरिद गर्दा ३५ देखि ४० हजार रुपैयाँ लाग्ने थापाले बताइन् । त्यही भएर पनि कम बिक्री भएको उनको भनाइ छ । ‘आर्थिक संकटको असर पनि देखिएको छ, जसले गर्दा सोचेअनुसार बिक्री नभएको हो,’ उनले भनिन्, ‘यद्यपि खाद्यको उद्देश्य मूल्य नियन्त्रण गरेर सर्वसाधारणको सेवा गर्ने हो ।’

खाद्यले दाङमा २५ किलोभन्दा बढीको खसीलाई प्रतिकिलो ५ सय ६२ र २० देखि २५ किलोको खसीलाई ५ सय ४५ रुपैयाँमा किनेको छ । बोका भने प्रतिकिलो ५ सय ४२ रुपैयाँमा खरिद गरेको जनाएको छ । वीरगन्जबाट २५ किलोभन्दा बढीको खसीलाई प्रतिकिलो ६ सय ५, २० देखि २५ किलोलाई ५ सय ८४ र बोकालाई ५ सय ७० रुपैयाँमा खरिद गरेको छ । च्यांग्रा भने प्रतिकिलो १ हजार १ सय २५ रुपैयाँमा किनिएको खाद्यले जनाएको छ ।

खाद्यको ढुवानी, प्रशासनिक खर्चसहित जोडेर बिक्री मूल्य निर्धारण गरिएको भनाइ छ । काठमाडौं चौपाया खरिदबिक्री प्रालिका अध्यक्ष जनक खड्काले पनि दसैंका लागि ल्याइएका करिब ३ सय च्यांग्रा मौज्दात रहेको बताए । सुरुमा प्रतिकिलो १ हजार ३ सय रुपैयाँमा बिक्री भएको च्यांग्रा अहिले मूल्य घटेर प्रतिकिलो एक हजारदेखि १ हजार १ सय रुपैयाँमा बिक्री गरिएको उनले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *