दूध किसानले पाएनन् १६ करोड भुक्तानी दूधको उत्पादन बढ्यो, बजार बढेन, गाईबस्तुलाई खुवाउने दाना किन्न पनि किसानलाई कठिन


‘किसान गाईबस्तुलाई खुवाउने दानालगायत गर्जो टार्न पैसाका लागि ताकेता गर्न आउने गरेका छन्,’ उनले भने, ‘आयोजनालाई पटकपटक ताकेता गर्दै आएको तर आजभोलि भन्दै आएकाले किसान मर्कामा छन् ।’ किसानले उधारोमा दूध बिक्री गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य गर्न सुब्बाले सरकारसँग माग गरे ।

सूर्योदय–१२ का आचार्य पशुपालन कृषि तथा डेरी फर्मका सञ्चालक तीर्थ आचार्यले दुग्ध वितरण आयोजनाले असारदेखिको २५ लाख रुपैयाँ भुक्तानी नदिएपछि भदौ ७ बाट दूध दिन बन्द गरेको बताए । दसैंलाई लक्ष्य गरी आफैंले घिउ र छुर्पी उत्पादन थालेको उनको भनाइ छ । ‘दुग्ध वितरण आयोजनाले दूधको पैसा नदिँदा किसानको ताकेता सहन नसकेर दूध दिन बन्द गर्न बाध्य भएँ,’ आचार्यले भने, ‘गाई–बस्तुलाई दाना खुवाउन र किसानबाट संकलित दूधको भुक्तानी दिन दसैंलक्षित गरी घिउ र छुर्पी उत्पादन थालेको छु ।’

सरकारले दूधको मूल्य बढाएपछि दूध र दुग्धपदार्थको बिक्री घट्दै गएको आचार्यले जनाए । ‘मूल्यवृद्धिअगाडि ७५० रुपैयाँमा प्रतिकिलो घिउ र १ हजार ५० रुपैयाँमा बेच्दै आएको छुर्पीको मूल्यवृद्धि भएर प्रतिकिलो १५० थपेर उपभोक्ता र व्यापारीलाई बेच्नुपर्ने बाध्ता छ,’ उनले भने, ‘यसअघि ग्राहकले महँगो भएको भन्दै किन्न आएको थिएन । तर दसैंमा बिक्री होला कि भनेर पुनः उत्पादन थालेको छु ।’ दूधको उत्पादन पनि बढेको छ । तर खपत वृद्धि हुन नसकेकाले दूध उत्पादक किसान चर्को समस्या झेल्न बाध्य रहेको आचार्यको भनाइ छ । सरकारले दूधको बजार विस्तारका लागि ठोस सरकारी योजना तथा नीति आवश्यक रहेको उनले जनाए ।

सुनसरीको इटहरी–१ स्थित कामधेनु दुग्ध विकास सहकारीको दुग्ध वितरण आयोजनाबाट ७५ लाख रुपैयाँ दूधको भुक्तानी लिन बाँकी छ । १० हजार किसान आबद्ध रहेको संस्थाको ७५ लाख रुपैयाँ भुक्तानी रोकिँदा निकै अप्ठ्यारो परिस्थितिको सामना गर्नुपरेको सहकारीका व्यवस्थापक परशुराम कार्कीको गुनासो छ । आयोजनाले समयमै भुक्तानी नदिएपछि पछिल्लो समय दूध दिन बन्द गरेको उनले सुनाए ।

सहकारीमा दैनिक १८ हजार लिटरसम्म दूध संकलन हुन्छ,’ उनले भने, ‘त्यसमध्ये ९/१० हजार लिटर दूधको विभिन्न दुग्धजन्य उत्पादन बजारमा बिक्री गरिरहेको र ८/९ हजार लिटर दूधको पाउडर बनाएर राख्ने गरेका छौं । पाउडर बनाएर पुँजी नै थन्किने भएकाले अब पुनः आयोजनालाई नै उधारोमा दूध बिक्री गर्नुपर्ने अवस्था छ ।’ विराटनगरका निजी डेरी सञ्चालक डिल्लीराम बरालले बजारमा अहिले किसान आफैं खुला दूध बेच्दै हिँडेको जनाए । ‘गाउँगाउँमा अहिले पशुपालन फर्म खुल्नुका साथै किसानले पनि व्यावसायिक गाई–भैंसीपालन गर्न थालेकाले दूध उत्पादन बढेको छ । तर त्यसको व्यवस्थित बजारीकरण हुन नसकेकाले अवैध रूपमा खुला दूध बेच्न बाध्य छन्,’ उनले भने, ‘सरकारले देशमा उत्पादन भएन र व्यापार घाटा भएको भन्ने तर भएको उत्पादनलाई व्यवस्थित गर्न नसक्ने अवस्थामा कोही पनि उत्पादनमूलक काममा लाग्दैन ।’

यहाँ दूधको मूल्य बढेपछि भारतभन्दा प्रतिलिटर ७/८ रुपैयाँ महँगो भएकाले सीमावर्ती भारतीय किसानले नेपाली बजारमा ल्याएर बिक्री गरिरहेको बरालको भनाइ छ । नेपाली किसानको दूध बिक्री नभइरहेको अवस्थामा भारतीय किसानले अवैध रूपमा दूध बेचिरहेकोलाई सरकारले नियन्त्रण नगरेको भन्दै आक्रोश पोखे । दूध बिक्री घटेपछि अहिले निजी डेरीले मूल्य घटाएर आआफ्नो उत्पादन बजारमा पठाउने गरेको बरालले सुनाए ।

यसअघि १७५ रुपैयाँमा दुई सय ग्राम पनिर बिक्री गर्दै आएको कामधेनु निजी डेरीले अहिले १६० मा बेच्न थालेको उनले जनाए । उनीहरूको जस्तै अवस्था कोशी प्रदेशका प्रत्येक दूध उत्पादक किसानको छ । किसानले उत्पादन गरेको दूध बिक्री हुनै कठिन भएको गुनासो पोख्छन् । यहाँका किसानले दुग्ध वितरण आयोजना विराटनगर र निजी डेरीहरूलाई दूध बेच्दै आएका छन् । तर कसैले पनि समयमा किसानलाई दूधको भुक्तानी दिने गरेका छैनन् ।

दूधको सुक्खा सिजन मानिने वैशाखदेखि भदौसम्म यस वर्ष अत्यधिक उत्पादन भएकाले समस्या भएको दुग्ध वितरण आयोजना विराटनगरका प्रमुख प्रमेश्वर चौधरीले बताए । ‘दूध उत्पादन वृद्धि हुँदा खुसी हुनुपर्नेमा अहिले त्यो समस्याका रूपमा आएको छ,’ उनले भने, ‘राजनीतिक दबाबमा कहीँ नबिकेको दूध यस आयोजनालाई किन्नैपर्ने बाध्यताले समस्या भएको हो ।’ उद्योगका रूपमा सञ्चालित यो आयोजनाको बजार, उत्पादन लक्ष्यलाई वास्ता नगरी जबर्जस्ती किन्नैपर्ने बाध्यात्मक अवस्था रहेकाले किसानलाई समयमा भुक्तानी दिन नसकेको चौधरीले गुनासो गरे । गत वर्षको साउन र भदौमा ७ लाख २० हजार ७३७ लिटर दूध संकलन भएको आयोजनाको तथ्यांक छ । चालु आर्थिक वर्षको सोही अवधिमा १३ लाख ६१ हजार ९३६ लिटर दूध संकलन भएको छ । आयोजनाले गत वर्ष संकलन गरेको ७० लाख ४५ हजार २४४ लिटर दूधबाट दूध, दही, पनिर, आइसक्रिम, फ्रेस मिल्क बिक्री गरिएको थियो । बाँकी दूधबाट ३ लाख १६ हजार ३ किलो पाउडर दूध उत्पादन गर्न बाध्य भएको थियो ।

मखन १ लाख ६९ हजार ५८५ किलो र घिउ ९६ हजार ३५५ किलो उत्पादन गरेको आयोजनाको तथ्यांक छ । चालु आर्थिक वर्षमा पाउडर दूध ५० हजार १५० किलो, मखन ५० हजार ९४३ र घिउ ५ हजार ९३९ किलो उत्पादन भएको छ । आयोजनामा उत्पादित पाउडर दूध २८ हजार किलो, मखन ७५ हजार किलो र घिउ ६ हजार ५ सय किलो आयोजनाको गोदाम अनि बाँकी हेटौंडा र काठमाडौंको गोदाममा पठाएको प्रमुख चौधरीले बताए ।

दूध उत्पादनमा वृद्धि, दूधको मूल्यवृद्धि, आर्थिक मन्दीले उपभोक्ताको खरिद क्षमता घट्नु, चिज र छुर्पीको उचित बजारीकरण अभाव र सीमावर्ती भारतीय किसानको दूधले यहाँका किसानलाई बजार अभाव भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका निर्देशक पशुपति ढुंगानाले जनाए ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *