न्यायका लागि धर्ना बस्दा लछारपछार


काठमाडौँ — छोरी आरती साहको न्यायका लागि भन्दै गत असार २ देखि काठमाडौंको माइतीघर मण्डलमा शान्तिपूर्ण धर्नामा बसिरहेकी निर्मलालाई शनिबार बिहान प्रहरीले लछारपछार पार्दै दुर्व्यवहार गरेको छ ।

बिहान सुतिरहेकै अवस्थामा प्रहरीको टोली अचानक आएर ‘माथिको आदेश छ, यो ब्यानर हटाउनुपर्‍यो’ भन्दै आरती साहको न्यायको अपिल गरिएको ब्यानर एकाएक च्यात्न थालेका थिए ।

१ सय २१ दिनदेखि धर्नामा बसेकी निर्मला रुँदै हारगुहार गर्न थालिन् । ‘आरतीलाई न्याय दे’ भन्दै उनका बुबा विनोद र भाइ प्रेम चिच्याउन थाले । तर प्रहरीले भने उनीहरूलाई जबर्जस्ती भ्यानमा राखी सिंहदरबार प्रहरी बिटमा पुर्‍यायो । प्रेमले कान्तिपुरसँग भने, ‘बिहानैदेखि भोकभोकै प्रहरी बिटको चिसो भुइँमा राखिएको छ ।’ जनकपुरधाम–९ की आरतीका माइती पक्ष छोरीको दाइजोका नाममा हत्या भएको जिकिर गर्दै धर्नामा बसेका हुन् ।

स्नातक तह दोस्रो वर्षमा पढ्दापढ्दै मोतीबाबुसँग बिहे भएको थियो । बिहेअघि विनोदले १६ तोला सुन र २५ तोला चाँदी केटा पक्षलाई दिए पनि बिहेपछि फेरि दाइजोकै नाममा आरतीलाई यातना दिएर हत्या गरिएको परिवारको दाबी छ । माइती पक्षले मोतीबाबु र ससुरा मदनमोहनविरुद्ध धनुषा प्रहरीमा किटानी उजुरी गर्न पटकपटक जाँदा पनि जाहेरी दर्ता गर्न नमानेपछि न्याय खोज्दै माइतीघर मण्डलमा धर्ना बस्न थालेका थिए । जसोतसो उजुरी दर्ता भए पनि अभियुक्त दुवै साधारण धरौटीमा छुटेका छन् ।

आरतीका मामा सन्तोष साहका अनुसार धर्नामा बसिरहेका बेला चार दिनअघि पनि संगठित रूपमा अज्ञात व्यक्तिहरू आएर आरतीका परिवारमाथि हमला गर्न खोजिएको थियो । होहल्ला गरेपछि भागेका थिए । भाग्ने क्रममा एउटा मोबाइल भेटिएको र प्रहरीलाई अनुसन्धान गर्न भनी दिइएको सन्तोषले सुनाए । मेडिकल काउन्सिलले समेत पोस्टमार्टम रिपोर्टमा त्रुटिपूर्ण भएको बताएको छ । त्यही त्रुटिपूर्ण पोस्टमार्टमको आधार मानेर अदालतले प्रमाण नपुगेको भन्दै साधारण तारिखमा छोडिदिनु न्यायोचित नभएको आरतीका परिवारले गुनासो गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *