‘गायिका बन्ने सपना देखेकै थिइनँ’


अन्नुको आवाज नै यस्तो छ कि जुनसुकै लय, भाका र भाषामा फिट हुन्छ । थारु भाषाको गीत गाएर यात्रा थालेकी उनको पहिलो नेपाली हिट गीत चाहिं उर्गेन दोङसँग गाएको ‘लजालु मायालु’ हो । युट्युबमा पाँच करोडभन्दा बढी पटक हेरिएको यो गीतमा उनले थारु भाषाकै अंश पनि गाएकी छन्, जसलाई अत्यन्तै रुचाइयो ।

एक दिन लोकप्रिय गायिका बनौंला भनेर मनको अन्तरकुन्तरमा पनि सपना पालेकी थिइनन् अन्नु चौधरीले । उनी सानैदेखि गीत गाउँथिन्, परिवार र साथीभाइलाई आफ्नो सुमधुर आवाज सुनाउँथिन् । उनको स्वर सुन्नेहरुले भन्थे- ‘तिम्रो स्वर कति राम्रो छ, गायिका बन्छ्यौ ।’

कैलालीको लम्कीचुहा नगरपालिकाकी अन्नु हिन्दी र नेपाली गीतहरु दुरुस्तै गाउँथिन् । एसईईपछि उनी पढ्नका लागि धनगढी पुगिन् । त्यहाँ स्कुल, कलेजमा उनको गायकी सुनेपछि स्थानीय संगीतकर्मीले थारु गीत गाउन प्रस्ताव गरे, अनि सुरु भयो उनको सांगीतिक यात्रा । थारु भाषाका गीतबाट उनी पश्चिम तराईमा चर्चित बनिन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *