‘गठबन्धनको सरकार सामाजिक न्यायविपरीत हिँड्यो’


काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले वर्तमान गठबन्धनको सरकार सामाजिक न्यायविपरीत हिँडेको बताएका छन् । बिहीबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्यहरूले सरकारले नागरिकका पीडालाई मलम लगाउने भन्दा पनि थप पीडा थप्ने काम गरेको बताएका हुन् ।

उनीहरूले पछिल्लो समय सरकारले गरेको गतिविधि न्याय र संविधानविपरीत रहेको पनि आरोप लगाएका छन् । उनीहरूले सरकारले भ्रष्टाचारलाई निर्मूल बनाउने भने पनि भ्रष्टाचार मौलाउँदै गएको बताए ।

राष्ट्रिय सभा सदस्य विना पोखरेलले विकास निर्माणका काममा ढिला सुस्ती र ठेक्कापट्टाको नाममा कमिसन, मन्दिरको भेटीमा घोटला, कर छली, करको दर हेरफेरमा चलखेल, हरेक वर्ष अरबौँको बेरुजु र राजनीतिक मेलमिलाप रहेको बताइन् । उनले सरकारले भष्टाचार गर्नेलाई राजनीतिक संरक्षण दिएसम्म भष्टाचारको अन्त्य हुन नसक्ने बताक्षन् । उनले राजनीतिक स्वच्छ नबनेसम्म मुलुकको भष्टाचारको जालो उखेल्न नसकिने अवस्था रहेको पनि बताइन् ।

पछिल्लो समय नेपाली समाजले समेत भ्रष्टाचारलाई प्रोसाहित गरिहेको उनको तर्क छ । नेपालको निर्वाचन प्रणाली अत्यन्तै महँगो भएको भन्दै उनले निर्वाचन एउटा पर्व भए पनि ठूलो व्यापार जस्तो बनेको दाबी गरिन् ।

“निर्वाचन आयोगले जतिसुकै अंक तोके पनि सीमाभित्र रहेर कसैले निर्वाचन लड्न सक्दैन । निर्वाचन एउटा पर्व हो, तर ठूलो व्यापार जस्तो बनेको छ । निर्वाचन प्रणालीलाई सुधार गरेर समानुपातिक प्रणाली लागु गर्ने हो भने राजनीतिक भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ,” पोखरेलले भनिन् ।

राष्ट्रिय सभा सदस्य कुमार दसौँदीले कोसी प्रदेशको नाम राखेपछि पहिचानका नाममा सत्ताधारी दलहरूले भित्रभित्रै उचाल्ने गर्ने काम गरेको बताए । उनले सत्ता गठबन्धनले उचाल्दा उचाल्दै त्यो कोसी धरान, सर्लाही हुँदै नेपालगञ्जसम्म जातजाती नभएर धार्मिक युद्ध हुने अवस्थामा मुलुक पुगेको बताए । सरकारको कमजोरीको कारण संविधान र अहिलेको व्यवस्थामाथि प्रश्न उठिरहेको उनको भनाइ छ ।

उनले २९ जनाले न्यायाधीशका लागि परीक्षा दिँदा एकजना मात्रै पास हुने तर न्यायाधीश नियुक्त उनीहरूबाट नै छनोट भएकोप्रति आपत्ति जनाए ।

“२९ जनाले न्यायाधीशका लागि परीक्षा दिँदा एकजना मात्रै पास हुन्छन् । तर, न्यायाधीश सबैले बुझ्छन् । हामीले चलाउन खोजेको व्यवस्था यही हो ? हाम्रो संविधानले यही भन्छ ? सरकारले यस्ता अलोकतान्त्रीक निर्णयहरू किन गर्छ ? द्वन्द्व बढाउन सरकार किन चाहन्छ ?,” उनले भने ।

त्यस्तै, राष्ट्रिय सभा सदस्य तुलसा कुमारी दाहालले सरकारले संविधान दिवसको दिन ऐतिहासिक काम गरे भने पनि गलत काम गरेको बताइन् । उनले फौजदारी अपराधमा संलग्न व्यक्तिहरूलाई एसिड आक्रमण गर्ने व्यक्तिहरूलाई खुकुरी प्रहार गर्ने अपराधीलाई आममाफी दिने काम गरेको भन्दै त्यस्तो गर्नु संविधान र कानुनको बर्खिलाप भएको बताइन् । उनले सरकार आफैँले संविधान र कानुनको औचित्य रहेको पुष्टि गर्न खाजेको आरोप लगाइन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *