‘मधुमेहमा आलु, चामल र गुलियो खानै नहुने होइन’


काठमाडौं । मधुमेह भएकाले ‘यो खान हुन्छ, यो हुँदैन, गुलियो त झनै खानुहुँदैन’ भनेको धेरै सुनिन्छ । मधुमेहको समस्या देखिने बित्तिकै बिरामीलाई खानेकुरा बार्नुपर्छ भन्ने चिन्ताले सताउँछ ।

चामल खान हुँदैन, आलु खान हुँदैन, चिनी खान हुँदैन र मैदाबाट बनेको खानेकुरा खान हुँदैन अब खाने चाहिं के त ? यो कुराले बिरामीलाई मानसिक तनाव दिइरहेको हुन्छ । यस्तोमा मधुमेह भएकाले चामल, आलु खानै हुँदैन ? युवाहरूमा मधुमेहको समस्या बढ्नुको कारण के हो ? लगायत विषयमा मधुमेह तथा हार्मोनरोग विशेषज्ञ डा. दीपक मल्ल

सँग  कुराकानीको सम्पादित अंश :

कुनै चिकित्सकले बिरामीलाई आलु, चामल खाँदै नखाऊ भनेकै हुँदैनन् । मधुमेह नियन्त्रण गर्नका लागि खानासँगै जीवनशैली परिवर्तन गर्नुपर्छ । कुनै दिन थोरै आलु खाँदैमा बिरामीको अवस्था बिग्रिहाल्ने भन्ने हुँदैन । आलु खाएको दिन अरू कार्बोहाइड्रेटयुक्त खानेकुरा नखाने प्रोटिन र फाइबरयुक्त खाना खायो भने ब्यालेन्स मिल्छ ।

मधुमेहको समस्या भएका व्यक्तिले आलु, चामल र गुलियो खानेकुरा खानै नहुने होइन । कहिलेकाहीं थोरै मात्रामा खान मिल्छ । आलु नै आलुले बनेको परिकार खान हुँदैन । एकदमै कम मात्रामा आलु मिसिएको खानेकुरा भने खान मिल्छ । तर सुगर लेभल नापेर खानु राम्रो हुन्छ ।

मधुमेहका बिरामीले खानै नहुने कुराहरू पनि छन् । खानै नहुने कुरामा चुरोट, जाँड, रक्सी र सुर्ती आदि हुन् । साथै चामल, आलु र गुलियो खानेकुरा त खान मिल्दो रहेछ भनेर दैनिक आलुको परिकार, जेरी रसबरी भने खान हुँदैन, कहिलेकाहीं थोरै मात्रा खान मिल्छ ।

कुनै चाडपर्व, पारिवारिक जमघटको बेला घरमा गुलिया खानेकुरा बनेका हुन्छन् । त्यो बेला परिवारका अन्य सदस्यले मज्जाले खाने अनि मधुमेहका बिरामीलाई भने यो पनि नखाऊ त्यो पनि नखाऊ भनिन्छ । यस्तोमा बिरामीलाई मैले खान पाइनँ भन्ने चिन्ताले सुगर बढ्छ । त्यसैले कहिलेकाहीं एकदमै थोरै गुलियो खानेकुरा पनि खान मिल्छ ।

घरमा कसैको जन्मदिन मनाएको छ, सबैले केक खाएका छन् भने मधुमेहको समस्या भएका व्यक्तिले पनि एक टुक्रा केक खाएर एक छिन नाचेर र खुसी भएर क्यालोरी खर्च सुगरलाई बढ्न नदिन सक्छन् । तर सबैले केक खाए मैले खान पाइन भन्ने तनाव लिएर सुते भने भोलिपटक झन् सुगर बढ्न सक्छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *