खानेपानीको मुहान खोज्दै गाउँतिर………………


बिदुर । बिदुर नगर क्षेत्रमा बढ्दो सहरीकरण र जनघनत्व बृद्धिका कारण खानेपानी समस्या बढ्दै गएपछि नगरपालिकाले संघीय सरकारको सहयोगमा वडा नम्वर १, ७, ८ र ९ लाई लक्ष्यित गरि खानेपानी आयोजना कार्यान्वयनमा ल्याउन लागेको छ । म्यागङ गाउँपालिका वडा नम्वर २ र किस्पाङ गाउँपलिका वडा नम्वर ३ को सीमामा पर्ने गद्धीयाखोला मुहानगरि कार्यान्वयन गरिने उक्त खानेपानी योजनाको लागि आवश्यक प्रकृयाहरु पुरा गर्न बिदुर नगरपालिका क्रियाशिल बनेको छ ।
यसैक्रममा आईतबार बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी, वडा नम्वर ३ का वडा अध्यक्ष बद्रीप्रसाद रिमाल र वडा नम्वर ९ का वडा अध्यक्ष हरेराम भण्डारीसहित प्राबिधिक र सरोकारवालाहरुको टोलीले खानेपानी मुहान क्षेत्र अवलोकन गरि आयोजना कार्यान्वयनको सम्भाव्यता र समस्याहरुका बारेमा जानकारी लिएको छ । उक्त क्षेत्रको अवलोकन पछि नगरप्रमुख श्रेष्ठले गद्धीया खोलामा सबै समय पानीको प्रचुर उपलब्धता रहने देखिएकोले अव संबन्धित स्थानीयतहहरुसंगको समन्वयमा आयोजना कार्यान्वयनमा तिब्रता दिईने नगरप्रमुख श्रेष्ठले बताए । खानेपानी आयोजना कार्यान्वयनका लागि बिदुर नगरपालिका वडा नम्वर ९ का सुनील श्रेष्ठको अध्यक्षतामा चारवटै वडाका उपभोक्ताका प्रतिनिधिहरुरहेको समिति गठन गरि काम अघि बढाईएको नगरपालिकाले जनाएको छ । संघीय सरकारबाट अघिल्लो आर्थिक बर्षमा प्राप्त एककरोड रुपैयाँबाट चारवटै वडामा खानेपानी संकलन ट्याङ्की बनाईसकिएको र यसबर्ष मुहान दर्ता लगायतका प्रकृयाहरु पुरा भएपछि पाईपलाईन बिस्तारको काम सुरु गरिने बताईएको छ ।
बिदुर नगरपालिकाका १,७,८र ९ नम्वर वडाका करिब तीनहजार उपभोक्ता प्रत्यक्ष लाभान्वित हुने उक्त खानेपानी आयोजनाका लागि संघीय सरकारले अघिल्लो आर्थिक बर्षबाट क्रमागतरुपमा बिशेष अनुदान उपलब्ध गराउँदै आएको छ । बिदुर नगर क्षेत्रमा खानेपानीको अभाव बढ्दै गएको सन्दर्भमा उक्त खानेपानी आयोजना लक्ष्यित क्षेत्रका नागरिकको सहज जीवनयापनका लागि कोसेढुङ्गा सावित हुने नगरपालिकाकी उपप्रमुख बोगटीको भनाई छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *