गन्तब्य अस्पतालको रुपमा रुपान्तरित हुँदै त्रिशूली अस्पताल


बिदुर । लामो समय राजधानीका अस्पतालहरुको स्रोत अस्पतालको रुपमा रहँदै आएको त्रिशूली अस्पताल पछिल्लो समय रसुवा र धादिङका नागरिकहरुका लागि समेत गन्तब्य अस्पतालको रुपमा बिकसित हुँदै आएको छ । २०६० सालसम्म एकजना चिकित्सकको भरमा मात्र संचालित अस्पतालमा अहिले १५ जना त बिशेषज्ञ चिकित्सकहरु नै कार्यरत छन् भने राजधानीका सुबिधासम्पन्न अस्पतालहरुमा पाईने सेवाहरु यहीँ पाईन थालेपछि नागरिकहरु उपचारकै लागि राजधानी धाउनुपर्ने बाध्यताबाट समेत मुक्त बन्ने अवस्थामा पुगेका छन् ।
सेवामा बिबिधता, प्रभावकारीता र व्यवस्थापकीय पक्ष चुस्तदुरुस्त रहँदा त्रिशूली अस्पतालमा संघ र प्रदेशस्तरमा पटक–पटक उत्कृष्टसमेत बन्दै आएको छ । स्थापनाको ५९ बर्षमा आईपुग्दा बिभिन्न आरोह–अवरोहसमेत पार गर्दे आएको छ । जे भएपनि कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि त जीवनदाता नै बन्दै आएको यो अस्पतालले आफ्ना सेवाहरुलाई अझै बिशिष्टिकृत र प्रभावकारी बनाउन सक्दा सरकारी अस्पतालले प्रवाह गर्ने स्वास्थ्य सेवाप्रति आम नागरिकको बिश्वास झनै बढ्न जाने बिश्वास गरिएको छ ।
अस्पतालको ५९ औं स्थापना दिवसको अवसरमा बिहिबार अस्पताल परिसरमा आयोजित बिशेष कार्यक्रमका सहभाागिहरुले पनि अस्पतालका सेवाहरुले नागरिकको मन जित्दै गएको बताउँदै सेवाहरु अझै बढी परिष्कृत हुनुपर्नेमा जोड दिए । अस्पतालका भौतिक र प्रशासनिक पाटोमा सुधार आवश्यक रहेको र त्यसको पूर्णता बिना प्रभावकारी स्वास्थ्य सेवा सम्भव नभएको पनि उनीहरुको भनाई थियो ।
कार्यक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले त्रिशूली अस्पतालको सुधार र क्षमता बिस्तारमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै प्रभावकारी स्वास्थ्य सेवाका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिईने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले स्थानीय स्तरमै प्रभावकारी स्वास्थ्य सेवा पाउने नागरिकको अधिकारको सम्मान गर्दे सरकारी अस्पतालमै प्रभावकारी उपचार हुन्छ भन्ने मान्यता स्थापित गर्न प्रदेश सरकार दृढ संकल्पित रहेको धारणा ब्यक्त गरे ।
कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदस्यहरु राधिका तामाङ र रमेशकुमार महत, जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, पूर्ब प्रदेशसभा सदस्य हिरानाथ खतिवडा, तादी गाउँपालिकाका प्रमुख सन्तमान तामाङ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, म्यागङ गाउँपालिकाका अध्यक्ष आशा तामाङ, बिदुर नगरपालिकाकी उपप्रमुख प्रभा बोगटी, किस्पाङ गाउँपालिकाका उपाध्यक्ष अर्जुन न्यौपाने, प्रमुख जिल्ला अधिकारी किरण थापा, नेपाली काँग्रेसका उपसभापति राजु थापा, माओवादी केन्द्रकी सचिव कल्पना रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रामेश्वर गजुरेल, बिदुर नगरपालिकाका पूर्ब नगर प्रमुख सञ्जु पंडित, बिदुर नगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष हरेरा भण्डारी, पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष शिव देबकोटा र अस्पताल सरोकार समितिका अध्यक्ष रमेश श्रेष्ठले अस्पतालले प्रवाह गरिरहेको सेवाहरुको चर्चा गर्दे प्रभावकारी स्वास्थ्य सेवाका लागि सबै पक्षको समन्वयात्मक प्रयास हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा अस्पताल व्यवस्थापन तथा संचालन समितिका अध्यक्ष राजु पंडित र मेडिकल सुपेरिण्टेण्डेन्ट डा.प्रतिक सिंहले अस्पतालको बर्तमान अवस्थाको बारेमा जानकारी दिँदै सर्बसुलभ र प्रभावकारी स्वास्थ्य सेवाप्रतिको प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा बर्षभरीमा उत्कृष्ट ठहरिएका डा.दिपेन्द्र तिमिल्सिनासहित बार्षिकोत्सका अवसरमा आयोजित अतिरिक्त क्रियाकलापका उत्कृृष्टहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

२०२१ सालमा त्रिशूली जलबिद्युत केन्द्रका कर्मचारीहरुको स्वास्थ्य उपचारका लागि खोलिएको साधारण स्वास्थ्य केन्द्रको बिकसित रुप नै आजको त्रिशूली अस्पताल हो । २०३२ सालमा उक्त स्वास्थ्य केन्द्र आम नागरिकको लागि पनि खुला गरिएसंगै यो अस्पताल नुवाकोट, रसुवा र धादिङका नागरिकहरुको स्वास्थ्य उपचारका लागि उपयुक्त गन्तब्य बन्दै आएको छ ।
सुरुमा १५ शैय्याबाट सेवा दिन सुरु गरेको त्रिशूली अस्पतालको २०६९ सालमा ५० शैय्यामा स्तरोन्नती भयो । २०७२ सालको महाभूकम्पमा पूर्ण रुपमा क्षतीग्रस्त यो अस्पतालले अहिले कोरियन सहयोग संस्था कोईकाको सहयोगमा निर्मित अत्याधुनिक भवनबाट सेवा प्रवाह गरिरहेको छ । पटक पटक संघ र प्रदेश स्तरमा उत्कृष्ट ठहरिएको यो अस्पतालमा राजधानीमा उपलब्ध प्राय ः सबै प्रकारका सेवाहरु र १५ जना चिकित्सकहरुबाट बिशेषज्ञ सेवा उपलब्ध छ । पछिल्लो समय डेक्सास्क्यान र डाईलोसिस सेवा दिईरहेको अस्पतालबाट चाँडै नै सिटीस्क्यान सेवा समेत सुरु हुने अस्पतालले जनाएको छ ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *