नुवाकोटमा सवारी नियम उल्लङ्घन गर्ने प्रबृत्ती बढ्दै


बिदुर । नुवाकोट जिल्लामा सवारी नियम उल्लङ्घन गर्ने प्रबृत्तीमा निरन्तर बढोत्तरी देखिएको छ । जिल्लामा आर्थिक बर्ष २०७८/०७९ र २०७९÷०८० मा गरिएको सवारी चेकजाँचका क्रममा सवारी नियम विपरित सवारी चलाउनेको संख्यामा बृद्धि देखिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जिल्लाका बिभिन्न स्थानमा गरेको सवारी चेकजाँचका क्रममा गत आर्थिक बर्षमा सवारी नियम उल्लङ्घन गर्ने १८ हजार चारसय ६८ सवारी साधनलाई कारबाही गरेको छ, जुन संख्या आर्थिक बर्ष २०७८/०७९ मा १६ हजार एकसय ५० थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले आर्थिक बर्ष २०७८ /०७९ मा १६ हजार एकसय ५० सवारीलाई गरेको कारबाहीबाट एकरोड ३४ लाख नौहजार छसय रुपैया राजश्व संकलन गरेकोमा आर्थिक बर्ष २०७९/०८०मा एककरोड ४८ लाख २५ हजार राजश्व संकलन गरेको छ । आर्थिक बर्ष २०७९/०८०मा आठहजार एकसय १८ मोटरसाईकल,चारहजार सातसय १७ ट्रक, दुईहजार चारसय ५० बस, दुईहजार पाँचसय २४ कार÷जिप र छसय ३८ ट्रयाक्टरलाई सवारी नियम विपरित संचालन भएबापत कारबाही गरेको छ । सवारी कारबाहीका क्रममा आवश्यक कागजपत्र साथमा नराख्नेहरुको संख्या अत्यधिक देखिएको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार आर्थिक बर्ष २०७८ /०७९ मा कागजपत्र नभएका सातहजार ९८, सवारी चालक अनुमति पत्र नभएका दुईहजार पाँचसय ११, अधिकभार भएका दुईहजार नौसय १२, रुट परमिट नभएका एकहजार ५५, बत्ति दुरुस्त नभएका आठसय ६९, सिट क्षमता भन्दा बढी यात्रु बोकेका छसय २२ , मादक पदार्थ सेवन गरी सवारी चलाउने पाँचसय ३७, छतमा यात्रु राख्ने ३७, सिटबेल्ट र हेल्मेट नभएका एकहजार चारसय आठ र तिब्र गतिमा चलाईएका पाँचवटा सवारीलाई कारबाही गरिएको छ ।
यसैगरी गत आर्थिक बर्षमा नुवाकोटमा ७९ वटा सवारी दुर्घटना भएको तथा दुर्घटनामा परि १४ जनाले ज्यान गुमाएको, ३१ जना गम्भीर घाईते भएको र एकसय ४२ जना सामान्य घाईते भएको समेत जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जानकारी दिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *