जिल्लास्तरीय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना– २०८० कार्यान्वयनमा


बिदुर । जिल्ला विपद व्यवस्थापन समिति नुवाकोटको बैठकले जिल्लास्तरीय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०८० लाई पारित गरि कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा सोमबार बसेको जिल्लाबाट संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुसहितको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीको संयोजकत्वमा गठित उपसमितिबाट अद्याबधिक गरी पेश भएको प्रतिकार्य योजना पारित गरेको हो ।

बैठकले जिल्लामा हुन सक्ने विपदजन्य घटनाहरुमा तत्काल उद्धारको लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको २५ जनाको टोली तयारी अवस्थामा राख्ने तथा प्रत्येक स्थानीय तहले सुरक्षा निकायहरुसंग समन्वय गरि बर्षातको समयमा विपदजन्य घटनाबाट हुनसक्ने क्षती न्यूनिकरणका लागि दक्ष स्वयंसेवकसहितको द्रुत प्रतिकार्य टोली निर्माण गरी तयारी अवस्थामा राख्ने निर्णय समेत गरेको छ ।

यसैगरी बैठकले बर्षातको समयमा बिद्युत, खानेपानी, टेलिफोन, ईन्टरनेट, सडक मार्ग आदिमा अवरोध हुन गई सार्वजनिक सेवा प्रवाहमा समस्या तथा जनजीवन प्रभावित हुने हुँदा बिषयगत कार्यालयहरुले तत्काल सुचारु गर्न सक्ने गरी तयारी अवस्थामा रहने निर्णयसमेत गरेको छ । बैठकले त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड अन्तर्गतको तिरतिरे भीर, जिलिङ, बुधसिंघाटलगायतका स्थानमा पहिरो गई सडक अवरुद्ध हुनसक्ने हुँदला तत्काल सुचारु हुन सक्ने गरी त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक आयोजनाले आवश्यक व्यवस्थापन मिलाउने निर्णय गरेको छ ।
यस्तै, बैठकले विपदको समयमा बिभिन्न रोगहरुको महामारी फैलनसक्ने हुँदा यसको नियन्त्रणका लागि संबन्धित पालिकासंग समन्वय गरी जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक औषधि, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीहरुको पूर्णरुपमा ब्यवस्था गर्ने तथा स्वास्थ्य कार्यालय र रेडक्रस मार्फत विपदबाट बच्न अपनाउनुपर्ने सुरक्षासंबिन्ध चेतनामुलक काम गर्ने निर्णय समेत गरेको छ ।

संघ र केन्द्रमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुसहित जिल्लाका पालिका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतहरु, सुरक्षा निकायका प्रमुखहरु, बिषयगत कार्यालयका प्रमुखहरु तथा नागरिक समाजसम्बद्ध बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको बैठकमा प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले बर्षाको समयमा हुने वीपदका घटनाहरुबाट बर्षेनी धनजनको अकल्पनीय क्षती भईरहेको सन्दर्भमा बिगतका घटनाहरुबाट पाठ सिक्दै भरपर्दोे पूर्बतयारीमा सरोकारवाला सबै पक्ष जिम्मेवारी बोधका साथ क्रियाशिल हुन पर्ने धारणा ब्यक्त गरेका थिए । त्यसक्रममा बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले एकीकृत र समन्वयात्मक रुपमा विपदको पूर्व तयारी हुँदा जोखिम र क्षती दुबै न्यूनिकरण हुने बताउँदै पूर्बतयारी, राहत र उद्धारमा स्रोतको कुनै कमी आउन नदिन प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । बैठकमा प्रदेशसभा सदस्यहरु राधिका तामाङ, रमेशकुमार महत र रामप्रसाद ढुँगानाले विपदको भरपर्दो पूर्बतयारीका साथसाथै यसका जोखिम बढ्नुका कारकहरुको समेत पहिचान गर्नुपर्नेमा जोड दिँदै विपदका घटनाहरुबाट जनधनलाई सुरक्षित राख्न सबै तहका सरकार र स्थानीयबिच समन्वयात्मक पहल हुनुपर्ने उल्लेख गरे ।

बैठकमा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंह ठकुरी, बिदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, तादी गाउँपालिकाका अध्यक्ष, सन्तमान तामाङ, लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा , नुवाकोट रेडक्रसका अध्यक्ष हरी श्रेष्ठ, नागरिक समाजका अध्यक्ष बद्री त्रिपाठीलगायतले बिपद पूर्ब तयारी र बिगतको अनुभव संबन्धि आ–आफ््नो धारणा राखेका थिए ।
बैठकमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सुरेश खतिवडाले प्रस्तुत गरेको विपद ब्यवस्थापन संबन्धि तीन बर्षे प्रतिबेदनमाथि समिक्षात्मक छलफल समेत गरिएको थियो ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *