सामाखुशी खोलाले सडकबाटै बगाएर छिनभरमै बेपत्ता परे बिधान


काठमाडौं । स्कुलबाट फर्किनेबित्तिकै पलङमा झोला फालेर फुटसल खेल्न हिंडेका थिए १२ वर्षीय विधान आलेमगर । रानीबारी नजिकैको तिलिङटार बस्तीका उनलाई आइतबार त्यसैको छेउ हुँदै बग्ने सामाखुशी खोलाले सडकबाटै बगाएर छिनभरमै बेपत्ता पारिदियो ।

राजधानी काठमाडौंको चक्रपथभित्र सुविधासम्पन्न बस्तीनेर शान्तसँग बहने सामाखुसी खोलामा विधान बेपत्ता होलान् भनेर उनका बुवा मनोजले चिताएका पनि थिएनन् । एउटै सन्तान विधानलाई दोहोरी रेस्टुरेन्ट चलाउँदै हुर्काइरहेका थिए मनोजले । पत्नी अर्थात् विधानकी आमा यतिबेला रोजगारीका लागि पोर्चुगलमा छिन् । जति–जति समय घर्किंदैछ, बाढीमा बगेको एउटै मात्र सन्तान सकुशल नफर्केला कि भन्ने संशयले मनोज झन् बढी आत्तिइरहेका छन् ।

नसोचेको बाढीले नसोचेको पीडा थप्दै लगेको छ सामाखुसी किनारको यो घरमा ।

सामाखुसीको खोलाले विधानलाई सँगै कहाँसम्म पुर्‍यायो होला भन्ने चिन्ता तिलिङटार र रानीबारीका हरेकजसो घरमा छ । प्रत्येकजसो पसल, चोक र गल्लीमा भइरहेका संवादले विधानलाई सकुशल देख्न चाहने धेरै भएको स्पष्ट गर्थ्यो ।
वधानका बाबु र हजुरबा
सोमबार अनलाइनखबरको टिम रिपोर्टिङका लागि विधानको घर पुग्दा आफन्तजनको ठूलो भीड थियो । आफन्त, साथीभाइ र छरछिमेकहरु मनोजलाई के भनेर सान्त्वना दिने भनेर अलमलमा थिए ।

विधानका हजुरबुवा छोरा मनोजलाई सम्हालिन भनिरहेका थिए । बेला–बेलामा टोलाइरहेका मनोजलाई कठोर बन्न चाहेर पनि सकिरहेका थिएनन् । उनको गहमा देखिने आँसुले नै छोराको चिन्ताले उनलाई कति अँठ्याएको छ भन्ने प्रष्ट हुन्थ्यो ।

मनोज जतिसक्दो छिटो छोराको अवस्था थाहा पाउन चाहन्छन् ।

तर यसका लागि कहाँ गएर चिच्याउने ? कोसँग गुहार माग्ने ? मनोज अलमलमा छन् । ‘अब कसलाई के भन्नु’ उनी भन्छन्, ‘धैर्य गर्न बाहेक के गर्न सकिन्छ र ?’

विधानले आइतबार विद्यालयबाट आएर ओछ्यानमा बिसाएको झोला अझै त्यहीं छ । उनको खेल्ने गुडिया झोलासँगै विधानकै प्रतीक्षामा बसे जस्तो भान हुन्छ ।

विधानको स्कुल ब्याग
विधानले खेलकुदमा जितेका मेडलसँगै विद्यालयको आईडी (परिचयपत्र) दराजमा झुन्डिरहेको दृश्यले त्यहाँ पुग्ने जोकसैको मन चसक्क हुन्छ नै ।

कसरी भयो घटना ?

विधान पानीपोखरीस्थित भानुभक्त मेमोरियल स्कुलको कक्षा ६ का विद्यार्थी हुन् । मनोजका अनुसार छरितो शरीर र अग्लो कदउन्मुख किशोरावस्था गुजारिरहेका विधान पढाइमा अब्बल विद्यार्थी हुन् । उनी तेक्वान्दो र खेलकुदमा निकै चासो राख्थे । बाबु मनोजका अनुसार उनी पटक–पटक खेलकुद प्रतियोगिता जितेर पदक र पुरस्कारहरु ल्याइरहन्थे ।

परिवारले उनको प्रतिभाशाली क्षमता देखेर खेलकुदमा लाग्न उत्प्रेरित गरेको थियो । उनी विद्यालयबाट फर्किएपछि दैनिक सामाखुशीमा दैनिक फुटसल खेल्न जान्थे । आइतबार पनि उनी विद्यालयबाट फर्किएपछि घरमा फुपूले तयार गरेको खाजा खाए । बाबु मनोज भने रेस्टुरेन्ट गइसकेका थिए ।

पानी पर्न लागेकाले फुपूले ‘आज खेल्न नजाऊ’ भनिन् । तर, विधानलाई दैनिक खेलिरहेको फुटसल खेल्न नजानुपर्ने खासै ठूलो कारण थिएन । सधैं सँगै खेल्न जाने साथीलाई अनुरोध गरे, तर पानी पर्न सुरु गरिसकेकाले साथीले अस्वीकार गरे । त्यसपछि विधानले अर्को साथी खोजे र घरको गल्लीबाट निस्किएर सामाखुसीतर्फ लागे ।बाटो हिलाम्य थियो, सडक किनारमै रहेको खोलामा पानीको सतह सडक बराबरकै आइसकेको थियो । कतिपय ठाउँमा खोला भरिएर सडकभरि पानी भरिसकेको थियो । सडकमा खासै चहलपहल नै थिएन । स्कुल बसहरु हिलोमा फसिरहेका थिए ।

विधान र उनका साथी बाटोमा पानी भरिए पनि अग्ला भागहरु ठम्याउँदै हिंडिरहेका थिए । नदीबाट सडक बनाउन उठाएको सानो पर्खाल हुँदै अघि बढ्ने क्रममा उनको अघि बिजुलीको पोल आइपुग्यो । पर्खालको बीचमा रहेको बिजुलीको पोल छल्न खोज्दा उनलाई एकैछिनमा खोलाले निलेजसरी खोलामाथिको स्ल्याबभित्र छिराएर लग्यो ।

पानी दर्किरहेको समयमा भएको यो घटना देख्नेहरु एकदमै थोरै थिए । घटनास्थलको नजिकै पसल चलाइरहेकी शान्ति कँडेल पानी भरिएर बाटो नदेख्दा विधान खोलामा परेको बताउँछिन् । ‘ज्यादै दुःखद् घटना भयो’ उनी भन्छिन्,‘बच्चा जहाँबाट खोलामा खस्यो, त्यहाँभन्दा पछाडि खोला सबै स्ल्याब लगाएर छोपिएकाले तत्कालै कसैले केही गर्न सक्ने अवस्था नै भएन ।’

विधानलाई बगाएको पर्खाल राखेर सडकमा माटो भर्ने काम त भइरहेको छ । तर, नदीतर्फको भागमा खतराको चिह्न जनाउने गरी सुरक्षा संकेत समेत राखिएको छैन । न त निर्माणको काम गरिरहेको काठमाडौं महानगरपालिकाले कुनै सुरक्षा बार राखेको छ । त्यसैकारण विधान सडकबाटै भेलको शिकार बन्न पुगेको स्थानीयहरु बताउँछन् ।

घटनास्थलबाट करिब ५०० मिटरको दूरीमा नै रानीबारी प्रहरी बिट छ । करिब साढे ४ बजे स्थानीयहरुले प्रहरी बिटमा पुगेर घटनाको जानकारी गराएका थिए । बाटो नै ढाकेर खोला बगिरहेकाले परिचालित प्रहरीले तत्कालै केही गर्न सकेन । स्थानीयहरुले पनि केही गर्न सकेनन् ।

मनोजलाई भने छोरा फुटसल खेल्न गएको तर, खोला ठूलो आएको भन्दै अवस्था बुझ्न भन्दै खबर गएको थियो । मनोज हतार–हतार विधानले नियमित खेल्ने फुटसल पुगे । अन्यत्र पनि खोजी गरे । आफ्नो छोराले जस्तै जर्सी लगाएकाहरु एक–एक गरेर हेरे ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *