भारतको जुनसुकै तरकारीलाई पनि नेपालमा स्वागत नेपालीलाई भारतको ढोका बन्द


४ साउन, काठमाडौं । ३१ असारमा बीबीसी हिन्दीले नेपालबाट भारतमा गोलभेंडाको तस्करी भइरहेकोबारे एक रिपोर्ट प्रकाशित गर्‍यो । सो रिपोर्टमा नेपालमा असीमित तरकारी उत्पादन हुने र त्यो तस्करी भएर भारतको बजार कब्जा गर्ने भाष्य स्थापित गर्न खोजिएको छ । तर, यथार्थ भने त्यसको ठ्याक्कै उल्टो छ ।

यथार्थमा नेपालले भारतबाट जति पनि र जस्तो पनि तरकारी आयात गरिरहेको छ । भारतीय तरकारी नेपाली बजारमा प्रवेश गर्न कुनै बाधा बन्देज छैन । सबैजस्तो मुख्य नाकामा क्वारेन्टाइन ल्याब छन्, त्यहाँ विषादी परीक्षण गरी तरकारी भित्रन्छ । धेरैजसो तरकारी त विषादी परीक्षणविनै यसै पनि भित्रिने गरेको छ ।
तर, नेपाली तरकारी तथा कृषिजन्य वस्तु भारत निर्यात गर्न त्यति सजिलो छैन । भारतले कुनै पनि भन्सार नाकामा प्लान्ट क्वारेन्टाइन ल्याब राखेको छैन । नेपाली वस्तुको ल्याब परीक्षण गर्नुपर्यो भने भारतको जुन राज्यमा निर्यात गर्ने हो, त्यही राज्यको राजधानीमा पुग्नुपर्छ । उदाहरणका लागि उत्तर प्रदेश निर्यात गर्ने हो भने लखनउको ल्याबमा परीक्षण गर्नुपर्छ, पश्चिम बंगालमा निर्यात गर्ने हो भने परीक्षण गर्नै कोलकाता पुग्नुपर्छ ।

नेपालको ल्याबले परीक्षण गरेर दिएको सर्टिफिकेटलाई भारतले मान्दैन । त्यसो हुँदा नेपालबाट भारतमा तरकारी, फलफूलजस्ता चाँडै नष्ट हुने वस्तु निर्यात गर्न एकदमै गाह्रो छ ।

अनि किन नेपाली तरकारीले भारतको बजार कब्जा गर्‍यो भन्ने प्रश्न उठ्छ त ? भन्ने प्रश्नमा एक व्यवसायी भन्छन्, ‘नेपालमा सीमित रुपमा उत्पादन हुने तरकारीले भारतको बजार कब्जा गर्ने प्रश्न नै उठ्दैन । भारतको नाकामा ल्याब परीक्षणको सुविधा नभएको र टाढाबाट परीक्षण गरेर ल्याउँदा चाँडै नष्ट हुने तरकारी कुहिसक्छ । त्यसो हुँदा नेपाल र भारतीय व्यापारीहरुले कहिलेकाहीँ अनौपचारिक माध्यमबाट भारतमा तरकारी पठाउँछन् । तर, नेपालमा उत्पादन नै कम हुने र लागत पनि महँगो पर्ने भएकाले ठूलो परिमाणमा तरकारी जान सम्भव नै छैन ।’

भारतीय तरकारी नेपाल ल्याउन नाकामै पूर्वाधार

व्यवसायी प्रकाश गजुरेल कालिमाटी बजारमा तरकारीको कारोबार गर्छन् । भारतबाट समेत प्याज लगायतका तरकारीहरु आयात गर्ने उनलाई आफ्नो व्यापारमा समस्या छैन । गजुरेलका अनुसार भारतबाट तरकारी आयात गर्दा नेपाल-भारत सीमामा रहेको नेपालतर्फको भन्सार कार्यालयमा वा नजिकको प्लान्ट क्वारेन्टिन तथा विषादी परीक्षण केन्द्रमा विषादी अवशेष जाँच गराउनु पर्छ । भैरहवा, वीरगञ्ज, नेपालगञ्ज, जनकपुर लगायतका प्रमुख नाकमा नेपालतर्फ यस्ता कार्यालयहरुमा परीक्षण हुन्छन् । ‘भन्सार यार्डमा गाडी आइपुगेको ६ देखि ७ घण्टामा विषादी अवशेष जाँच हुन्छ,’ गजुरेल भन्छन्, ‘भन्सार यार्ड टेकेको गाडी १२ घण्टा जतिमा काठमाडौं लगायतका प्रमुख गन्तव्य शहरमा पुग्छ ।’ भारत वा जहाँसुकैबाट नेपाल आउने यस्ता तरकारीमध्ये आलु र प्याजबाहेकमा न्यूनतम् कृषि सुधार शुल्कमै नेपाल भित्रिन्छन् ।

नेपालले भारतबाट भित्रिने तरकारीमा विषादी जाँच गर्न काँकडभिटा, विराटनगर, जलेश्वर, वीरगञ्ज, नेपालगञ्ज, भैरहवा र धनगढीमा तरकारी तथा फलफूलमा विषादी अवशेष भन्सार नाकामै जाँच गरिरहेको छ । यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय, तातोपानी भन्सार, रसुवागढी, कृष्णनगर र गड्गाचौकी, चोभार सुख्खा बन्दरगाह, सुख्खा बन्दरगाह सिर्सियामा पनि विषादी परीक्षणको काम सुरु भइसकेको छ ।

नेपालतर्फ प्राय हरेक नाकामा विषादी जाँच हुँदा भारतीय तरकारीको जाँच सरल भएको छ । तर, नेपाली तरकारी भारत पठाउन भने भारततर्फ सीमा नजिक कुनै पूर्वाधार छैन ।

दिल्ली र लखनउ धाउँदै कुहिन्छ तरकारी

नेपालगञ्जमा रहेको कृषि उपज बजार समितिमा अहिले ६० देखि ७० रुपैयाँ किलोमा गोलभेंडा बिक्री भइरहेको छ । नजिकैको सीमापारी भारततर्फ भारु १३० रुपैयाँ अर्थात् २ सय नेपाली रुपैयाँ हाराहारीमा गोलभेंडा बिक्री भइरहेको छ ।

तर, अहिले नेपालमा प्रशस्त उत्पादन हुने गोलभेंडा भारतमा बिक्री गर्न नसकिएको समितिकी अध्यक्ष मोतीसरा थापा बताउँछिन् । ‘नेपालबाट भारततर्फ पठाउँदा विषादी जाँच भारततर्फ नै गराउनु पर्छ । यसका लागि लखनउ पुग्नुपर्छ,’ थापा भन्छिन्, ‘अब कसरी लखनउ पुग्ने ? त्यहाँ पुगेर विषादी जाँच गरेर फर्किंदा तीन दिन लाग्छ । यत्तिका समयमा गोलभेंडा सहितका तरकारी सडिसक्छन् ।’ भारतले नाकामै परीक्षण गर्ने ल्याब नराख्नुलाई नेपाली तरकारी नल्याऊ भनेको अर्थमा बुझ्नुपर्ने उनको भनाइ छ ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल याहुद मन्सुरी पनि भारतमा नेपाली तरकारी निर्यात हुनै नसकेको बताउँछन् । नेपाल भित्रिने तरकारी नेपालतर्फ नाकामै जाँच हुने भए पनि नेपालगञ्जबाट पारी (भारत) निर्यात हुने तरकारी र जडिबुटीको निर्यात जाँचका लागि लखनउ पुग्नुपर्ने उनी बताउँँछन् । ‘नेपालबाट तरकारी, फलफूल निर्यात नहोस् भन्ने मनसाय भारतले राखेको दखिन्छ,’ उनले भने, ‘भारतबाट आयात हुँदा नाकामै पूर्वाधार तर नेपालबाट निर्यात हुन दिल्ली र लखनउ धाउनुपर्छ ।’

पूर्व वाणिज्य सचिव चन्द्र घिमिरे भन्सार नाकामा दुवैतर्फ ल्याब परीक्षणको पूर्वाधार बनाइनुपर्ने बताउँछन् । ‘नेपाल र भारतबीच दुई मुलुकका ल्याबले दिएको सर्टिफिकेट मान्ने सैद्धान्तिक सहमति अर्थात् म्युचुअल रिकग्निसन एगि्रमेन्ट भएको छ, तर त्यति मात्रै पर्याप्त छैन । ल्याबको गुणस्तरलगायतका विषयमा थप सहमति हुनुपर्छ, नेपालले दिएका सर्टिफिकेट भारतले मान्ने वातावरण हुनुपर्छ,’ उनले भने ।

त्यसो नहुने हो भने नेपाल-भारतबीच बनेका एकीकृत जाँच चौकीमा दुवैतर्फ समान गुणस्तरका ल्याब बनाइनुपर्ने उनले बताए । ‘आईसीपी बनाउँदा दुवैतर्फ समान पूर्वाधार र सुविधा हुने -ऐनको अवधारणा)मा बनेको हो, यसमा व्यापार सहजीकरण गर्ने विभिन्न निकाय रहने भन्ने सम्झौता छ, त्यसैअनुसार गुणस्तरीय ल्याब राख्न सकियो भने यो समस्या समाधान हुन्छ,’ उनले भने ।

एक वर्षमा नेपालले नाकामै जाँच्यो ६२ हजार नमूना

नेपाल भित्रिने तरकारी तथा फलफूलमा आर्थिक वर्ष २०७९/८० मा मात्रै ६२ हजार वटा नमूना जाँच गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ ।

नेपालका १२ वटा प्रमुख नाकामा यस्ता पूर्वाधार रहेको विभागकी महानिर्देशक डा.मतिना जोशी वैद्यले जानकारी दिइन् । त्यसमध्ये नेपाल र भारतका सिमानामा आठवटा ल्याब रहेको जानकारी उनले दिइन् । त्यस्तै, दुईवटा नेपाल-चीन नाकामा छन् भने भैरहवा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा एक-एक वटा र बाँकी ८ वटा कार्यालय नेपाल-भारत सीमा क्षेत्रमा छन् ।

भारत र नेपालबीच तरकारी तथा फलफूलको विषादी जाँच सम्बन्धमा २०१९ मा नेपालमा भएको विदेशमन्त्रीस्तरीय सम्झौतामा नेपाली ल्याब रिपोर्टकै आधारमा भारतीय बजारमा तरकारी फलफूल निर्यात गर्ने सकिने सम्झौता रहेको जोशी बताउँछिन् । तर, सरकारी उच्च तहमा भएको सम्झौता व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । भारतमा आयात र निर्यात हेर्न फरक-फरक निकाय रहेको र विषादी व्यवस्थापन तथा क्वारेन्टिन कार्यालय पनि फरक-फरक रहेको विभागले जनाएको छ । अब नेपालले तीनवटै निकायसँग समझदारी गरेर एमओयु गर्ने तयारी गरिरहेको उनले बताइन् ।

मन्त्रालय भन्छ- सहजीकरण प्रयास भइरहेको छ

कृषि तथा पशुपछी विकास मन्त्रालयले नेपाली तरकारी र फलफूल तथा चिया लगायतका वस्तुको सहज निर्यातका लागि पहल भइरहेको जनाएको छ ।

भारतले बेलाबेलामा आफ्नो मुलुकमा आयात गर्ने र निर्यात गर्ने वस्तुको सूची अपडेट गर्ने गर्छ । यस्तो सूची त्यहाँको वैदेशिक व्यापारको महानिर्देशकले बनाउने गर्छन् । भारतमा कुनै वस्तुको उत्पादन, बजारमा माग र आपूर्तिका आधारमा त्यो लिष्ट अपडेट हुने गर्छ । त्यसो गर्दा नेपालमा उत्पादन हुने फलफूल तथा तरकारीलाई आयात गर्ने सूचीबाट हटाउने पनि गर्छ ।

भारतले आयात गर्ने वस्तुको सूचीमा नेपालबाट निर्यात हुने वस्तु निरन्तर परिरहने वातावरण नभएसम्म ती वस्तु भारतमा निर्यात हुन नसक्ने मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखा प्रमुख शवनम सिवाकोटी अर्याल बताउँछिन् । ‘अहिले हरियो तरकारीमा नेपालबाट बन्दा र स्कुस मात्रै भारत निर्यात हुने गरी क्वारिन्टिन लिष्टमा छ,’ सहसचिव सिवाकोटी भन्छिन्, ‘हामीले मटरकोसा, गोलभेंडा लगायतका हरिया मौसमी तरकारी पनि सो लिष्टमा राख्नका लागि पहल गरिरहेका छौं ।’

अहिले भारत भ्रमणमा रहेका कृषिमन्त्री वेदुराम भुसाल नेतृत्वको बैठकमा पनि यसबारे छलफल हुने मन्त्रालयले जनाएको छ ।

भारतबाट साढे २९ अर्बको तरकारी आयात, नेपालबाट ६४ करोडको निर्यात

 

भन्सार विभागको विवरणअनुसार आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपालले २९ अर्ब ६० करोडको तरकारी आयात गरेको छ । आयात हुने प्रमुख वस्तुमध्ये १२ औं नम्बरमा हरिया तरकारीहरु पर्छन् । तर, नेपालबाट ६४ करोड ४२ लाख रुपैयाँ बराबरको मात्रै तरकारीजन्य वस्तु नेपालले निर्यात गरेको छ ।

सोही अवधिमा नेपालले भारतबाट ६१ करोड रुपैयाँको ताजा गोलभेडा आयात गरेको छ भने निर्यात एक रुपैयाँको पनि गरेको छैन ।

भारतसँग नेपालको हरियो तरकारीमा मात्रै २८ अर्ब ९६ करोड रुपैयाँ व्यापार घाटा छ ।

,

Leave a Reply

Your email address will not be published. Required fields are marked *