जागिरबाट अवकाशपछि पाल्न थाले गँड्यौला, बेच्छन् किलोको १२ सयमा


भट्टे गाउँ दाङ, तुलसीपुर उपमहानगरपालिका–३ को पहाडी बस्ती हो। तुलसीपुर बजारबाट करिब दस किलोमिटर उत्तर–पश्चिममा छ। यो गाउँका बासिन्दाहरू खेतीकिसानी गर्छन्।

सबैजसो किसानले व्यावसायिक रूपमा तरकारी खेती गरेका छन्। उनीहरूको आम्दानीको मुख्य स्रोत तरकारी खेती नै हो।

यो गाउँलाई व्यावसायिक खेतीतर्फ अघि बढाउन ५२ वर्षीय कर्णबहादुर वलीको भूमिका निकै महत्त्वपूर्ण छ। उनी गँड्यौले मल बनाउँछन्, गँड्यौला उत्पादन गर्छन्।

गँड्यौलाको मद्दतले बनाइने मलको नाम ‘भर्मी कम्पोस्ट’ हो। यसैलाई आमबोलीमा गँड्यौले मल भनिएको हो।

कर्णबहादुरले एक किलो मल ३५ रूपैयाँमा बेच्छन्। गँड्यौला भने एक किलोको एक हजार २०० रूपैयाँ पर्छ। यस हिसाबले प्रतिक्विन्टल एक लाख २० हजार रूपैयाँ पर्छ। उनले पछिल्लो एक महिनामा दुई लाख रूपैयाँको गँड्यौला बेचे।

यति बेला उनीसँग करिब १८ लाख रूपैयाँ बराबरको गँड्यौला बिक्रीका लागि तयार छ।

‘व्यावसायिक रूपमा अर्गानिक तरकारी तथा फलफूल खेती गर्ने किसानहरू गँड्यौले मल किन्न घरमै आइपुग्छन्,’ उनले भने, ‘बाहिरको मागको के कुरा, मैले यही गाउँलाई मल पुर्‍याउन सकेको छैन।’
कर्णबहादुरले उत्पादन गरेको गँड्यौले मल जिल्लास्थित कृषि ज्ञान केन्द्र, तुलसीपुर उपमहानगरपालिकाको कृषि विकास शाखा र राष्ट्र संघीय विकास कार्यक्रम (युएसएआइडी) को ‘किसान टू परियोजना’ ले सिफारिस पनि गर्छन्।

गाउँमा एक-दुई जनाले उत्पादन गरेर गँड्यौले मलको माग पूरा हुँदैन।

‘प्रत्येक किसानले थोरै भए पनि गँड्यौले मल उत्पादन गर्नुपर्छ,’ उनले भने, ‘म यस्तो योजनाका साथ काम गर्नतिर लागेको छु।’

प्रत्येक किसानले गँड्यौला पालेर मल उत्पादन गर्ने हो भने भविष्यमा कसैले पनि रासायनिक मल किन्नु नपर्ने उनको विश्वास छ।

‘गाउँका हरेक घरमा गँड्यौले मल उत्पादन होओस्, रासायनिक मल किन्नु नपरोस्। किसान सबै स्वरोजगार बनून् र बजारमा अर्गानिक उत्पादन पुगोस् भन्ने मेरो सपना छ,’ उनले भने, ‘यसो हुन सके रासायनिक मलको खपत घट्छ र देशको खर्च पनि घट्छ।’

कर्णबहादुरले एक बिघा जमिनमा तरकारी र फलफूल खेती गरेका छन्। हाल १६ वटा टनेलमा तरकारी खेती छ। अन्न बाली पनि लगाउँछन्। आफ्नो खेतीमा गँड्यौले मल मात्र प्रयोग गर्छन्।

बजारमा रासायनिक मलका लागि हानथाप हुँदा पनि कर्णलाई त्यसको कुनै अर्थ हुँदैन। यो मल प्रयोग गर्न थालेपछि उनले रासायिनक मल किन्नुपरेको छैन। उनी मलको उत्पादन र गुणस्तर दुवै बढाउने योजनामा छन्।
उनका अनुसार गँड्यौले मलमा बोटबिरूवालाई आवश्यक पर्ने नाइट्रोजन, फस्फोरस, पोटास, क्याल्सियम, म्याग्नेसियम, कपर लगायत १६ प्रकारका तत्वहरू हुन्छन्। कम्पोस्ट मल प्रयोगले माटोको उर्वरा शक्ति बढ्छ, रासायनिक मलले खराब भएको माटोको गुणस्तर सुधार हुन्छ। अन्न, तरकारी र फलफूल स्वस्थकर हुन्छ।

‘गँड्यौले मल अलिक महँगो पर्छ तर धेरै प्रयोग गर्नु पर्दैन। धेरै वर्ष रासायनिक मल प्रयोग भएको माटोमा पहिलो वर्ष अलिक बढी चाहिन्छ तर दोस्रो, तेस्रो वर्षमा घट्दै जान्छ,’ उनले भने।

अन्ततः एक पटक मल हालेपछि दुई बालीलाई पुग्ने हुन्छ र रासायनिक मलको तुलनामा सस्तो पर्न जान्छ।

गएको हिउँदे सिजनमा उनले तरकारी खेतीबाट मात्रै छ लाख रूपैयाँ बचत गरे। यसमा रासायनिक मल प्रयोग गरेनन्।
कसरी पाल्ने गँड्यौला?

कर्णबहादुरले हाल ६ वटा पक्की र ६ वटा कच्ची गरी १२ वटा ‘बेड’ मा गँड्यौला पालेका छन्। पक्की बेड इँटा र सिमेन्टले बनेको हुन्छ। कच्ची बेड साधारण बोरा बिच्छ्याएर बनाउँछन्। कच्ची बेडमा उत्पादन सस्तो पर्छ।

बेडमा गाइभैंसीको गोबर ९० प्रतिशत र दस प्रतिशत माटो मिलाएर राख्नुपर्छ। कर्णबहादुरले भैंसी पालेका छन् तर गोबर पुग्दैन। उनी गाइँभैंसी पालन फर्मबाट किनेर ल्याउँछन्।

गोबर–माटो मिलाएपछि दुई साता भिजाएर राख्नुपर्छ। यसपछि गँड्यौला राख्न उपयुक्त हुन्छ। गँड्यौला राखेपछि बेडमा पानी दिइराख्नुपर्छ।

बेडमा घामको प्रकाश र ताप सोझै पर्न नदिने गरी छायाको व्यवस्था गर्नुपर्छ। उनले पक्की बेडमा करिब सात फिटमाथि जस्ताको छानो हालेका छन्। कच्ची बेडमा प्लास्टिक लगाएका छन्।

दुई महिनामा गँड्यौला दोब्बर वृद्धि हुन्छ। एक बेड गँड्यौला बढेर वर्षभरिमा दस बेडसम्म हुन्छ। गँड्यौलाको गुणात्मक वृद्धिका लागि भेली र पिठो दिन सकिन्छ।

बजारमा गँड्यौला वृद्धि गर्ने औषधि पनि पाइए पनि आफूले प्रयोग नगर्ने उनी बताउँछन्। एक बेडमा एक किलोग्राम भेली र एक किलोग्राम बेसनको घोल प्रयोग गर्छन्।

गँड्यालाले खाएर पचाएको गोबर–माटोको मिश्रण नै भर्मी कम्पोस्ट अर्थात् गँड्यौले मल हो।

यसरी सुरू गरे कर्णबहादुरले गँड्यौला पालन

कर्णबहादुर राष्ट्रिय अनुसन्धान विभागका जागिरे थिए। एक वर्षअघि सेवा निवृत्त भए। जागिरमा हुँदा पनि उनले व्यावसायिक तरकारी खेती गरेका थिए। खेतीको काम श्रीमती देवीकलाले सम्हाल्थिन्।

‘मैले के सोचेँ भने जागिर छाडेपछि सरकारले पेन्सन दिन्छ, त्यो पेन्सन त्यसै बसेर खाऊ भनेर दिएको होइन। आफ्नो सीप र क्षमता प्रयोग गरेर केही काम गर भनेको हो,’ उनले भने, ‘मैले गाउँका युवा र भावी सन्ततिलाई केही प्रेरणा दिन केही नयाँ काम गर्ने सोचेँ।’

कुनै ठोस योजना भने बनेको थिएन। यस्तैमा उनी घुमघामका लागि चितवनतिर गएका थिए। चितवनमा उनी ‘दिव्य अर्गानिक फर्टिलाइजर फार्म’ मा पुगे।

त्यहीँ उनले गँड्यौलाबाट भर्मी कम्पोस्ट बनाउन सकिने थाहा पाए। त्यससम्बन्धी तरिका बुझे।

उनी गाउँकै ‘भट्टे कृषि सहकारी संस्था’ र ‘भट्टे सिँचाइ कुलो समिति’ का पनि अध्यक्ष हुन्। उनले आफूले नेतृत्व गरेको सहकारीमा आबद्ध गाउँका किसानका लागि चितवनबाट भर्मी कम्पोस्ट अर्थात गँड्यौले मल ल्याएर तीन वर्षअघि नै परीक्षण खेती थालेका थिए।
सुरूका दिनमा गँड्यौला पालेर मल उत्पादन गर्ने कुरा गाउँलेहरूलाई विश्वास लागेकै थिएन। उनकी श्रीमती देवीकलाले पनि पत्याएकी थिइनन्। पार लाग्दैन होला भन्ने ठानिन्। कर्णबहादुर भने आफ्नो अठोटअनुसार अघि बढे।

त्यो मलले राम्रो उत्पादन दिएपछि किसानहरू उत्साहित भए। कर्णबहादुर सधैं टाढाबाट मल किनेर फाइदा लिन सकिँदैन, आफैं गँड्यौला पाल्नुपर्छ भन्ने निष्कर्षमा पुगे। त्यहीअनुसार योजना बनाएर काम सुरू गरे।

कर्णबहादुरका अनुसार उनले पालेको गँड्यौला अस्ट्रेलियाबाट ल्याइएको ‘आइसिनिया फोटिरा’ जातको हो। यसले गोबर खान्छ। स्थानीय गँड्यौलाले माटो मात्रै खान्छ।

‘मैले परीक्षण गरेर हेर्दा स्थानीय गँड्यौला गोबरमा राखेपछि मर्दो रहेछ,’ उनले भने, ‘मैले पालेको गँड्यौलाले गोबर मात्रै खान्छ।’

गँड्यौला सजीव हलो मानिन्छ। प्राकृतिक रूपमा गँड्यौला धेरै भएको माटो उर्बर हुन्छ। गँड्यौला माटो खनेर घुस्रिने र माटो खाने जीव भएकाले खेतबारीको माटो खुकुलो हुन्छ। खुकुलो माटोमा उत्पादन राम्रो हुन्छ।

उनले तरकारी र फलफूल खेतीबाट पनि आम्दानी गरिरहेका छन्। यसपालि एउटा लिचीको बोटबाट १२ हजार रूपैयाँ आम्दानी गरे। सुन कागती र बाह्रै महिना फल्ने लोकल सल्यानी कागती लटरम्म छ। यसपालि २० क्विन्टल हाराहरी कागती बेच्ने अपेक्षा छ। कलमी आँपका बोट ६ वटा छन्। भैंसीका लागि नेपियर जातको घाँस रोपेका छन्।

कर्णबहादुर र देवीकुमारीको बारीमा तीन जना कामदारले नियमित काम गर्छन्।
यहाँका किसानको क्रियाशिलता देखेर कृषि ज्ञान केन्द्रले प्रधानमन्त्री कृषि आधुनिकीकरण ब्लक कार्यक्रम परियोजनाका लागि भट्टे गाउँ छनोट गर्‍यो। हाल भट्टे गाउँभर व्यावसायिक तरकारी खेतीका लागि २५० वटा टनेल बनेका छन्। दाङ उपत्यका बृहत् सिँचाइ परियोजनाले पाँच हजार मिटर पक्की कुलो पनि बनाइदिएको छ।

‘भट्टे गाउँलाई तरकारीको हब बनाउने हाम्रो योजना छ,’ कर्णबहादुरले भने, ‘अब बाँसका होइन, फलामका टनेल बनाएर दीर्घकालीन रूपमा कृषि व्यवसाय गर्छौं।’

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *