बस्ती स्थानान्तरणको माग राख्दै फोहोर व्यवस्थापनमा अवरोध


बिदुर । नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका जनप्रतिनिधि र स्थानीयहरुले अवरोध गरेका कारण आईतबार काठमाडौं उपत्यकाका १८ स्थानीयतहको फोहोर व्यवस्थापनको काम रोकिएको छ । फोहोरबाट मानवलाई अलग गर्नुपर्ने आफ्नो मागलाई बेवास्ता गरिएका कारण उपत्यका बाट फोहोर लिएर आएका ६० भन्दा बढी गाडीहरुलाई फोहोर बिसर्जन गर्न नदिई फकाईएको ककनी वडा नम्वर ३ का वडा अध्यक्ष घनानाथ बजगाईले जानकारी दिए ।
सोमबार बिहानै देखि ककनी वडा नम्वर २ को आलेटारमा जम्मा भएका ककनी र धुनिबेसीका जनप्रतिनिधि र स्थानीयहरु ‘कि हामीलाई मारि दे, कि बस्ती सारि दे,’ ‘फोहोर रहित मानव, मानव रहित फोहोर’ जस्ता नारा लेखिएका व्यानर सडकमा राखेर बसेका थिए । आलेटारमा उपस्थित ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले पटक–पटक सहमति भएपनि कार्यान्वयनमा तदारुकता नदेखिँदा समस्या जटील बनेको र अव नाम मात्रको सहमति गर्ने पक्षमा स्थानीयहरु नरहेको बताए । फोहोर र प्रदूषणका कारण मानव जीवन अत्यन्त कष्टकर बन्दै गएकाले नागरिकको पक्षमा स्थानीय तह दृढतापूर्बक उभिने समेत अध्यक्ष तामाङको भनाई छ ।
कामपाले यसवर्ष वर्ष फोहर व्यवस्थापनमा कुनै समस्या हुदैन भने पनि साउन महिना लागेसँगै फोहर रोकिन थालेको छ । यसअघि सिसडोलमा व्यवस्थापन हुदैँ आएको उपत्यकाको फोहर गत भदौ सातदेखि बञ्चरेडाँडामा व्यवस्थापन हुदैँ आएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *